वामपन्थी एकताको सरकार बने नेकपा एस स्वतः सहभागी बन्नुपर्छ : खनाल
उनले वाम एकताको सरकार बन्न सक्ने आधार भए पनि राजावादी र दक्षिणपन्थी शक्तिसहितको सरकार बनेको अवस्थामा जनतामा शंका, अविश्वास र निराशा बढरिहेको तर्क उनले गरेका छन्।
काठमाडौं, पुस १८ : नेकपा एकीकृत समाजवादी (नेकपा एस) का सम्मानित नेता झलनाथ खनालले अहिलेकै अवस्थामा पार्टी सरकारमा जानु उचित नहुने तर वामपन्थी एकताको सरकार बने स्वतः सहभागी हुनुपर्ने बताएका छन्।
आज (सोमबार) बाट काठमाडौंमा सुरु भएके पार्टी पोलिटब्युरो बैठकमा ८ पृष्ठको दस्तावेज पेस गर्दै खनालले नेकपा एमाले, माओवादी केन्द्र र नेकपा एस मिल्दा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को आवश्यकता नपर्ने बताएका छन्।
उनले वाम एकताको सरकार बन्न सक्ने आधार भए पनि राजावादी र दक्षिणपन्थी शक्तिसहितको सरकार बनेको अवस्थामा जनतामा शंका, अविश्वास र निराशा बढरिहेको तर्क उनले गरेका छन्।
अहिलेको सरकारमा सहभागी हुन नेकपा एसजस्तो क्रान्तिकारी विद्रोही पार्टीले लालायित हुन जरुरी नरहेको उनको भनाइ छ। सरकारमा सहभागी हुने अवस्था नआए पार्टी निर्माणतर्फ केन्द्रित हुनुपर्ने सुझाव उनले दिएका छन्। आफ्नो पार्टीलाई अरुको पार्टीमा लगेर विलय गराउनुपर्छ भन्ने मनोविज्ञान पयालनवादी सोचको उपज भएको खनालको तर्क छ।
नेता खनालले पार्टीको पुनर्गठनको कालदेखि अहिलेसम्म अनुभवहरूको समग्र समीक्षा गर्नुपर्ने पनि बताएका छन्। आफ्ना गल्ती र कमजोरीहरूको निर्मम ढंगले उजागर गरेर के कारणले राष्ट्रिय पार्टी बन्न नसकेको भनेर खोजी गर्नुपर्ने समेत बताए।
उनले वर्तमान राष्ट्रिय र अन्तर्राष्ट्रिय परिस्थितिको विश्लेषण गर्दै नेपाली समाजका क्रान्ति र रूपान्तरणका निम्ति हाम्रो कार्यदिशा,नीति, सिद्धान्त र लक्ष्यका बारेमा धारणाहरू दस्तावेजीय रूपमा प्रस्ट पार्नुपर्नेमा पनि जोड दिएका छन्।
उनले दुर्घटनाहरूबाट गहिरो शिक्षा लिएर पार्टी र नेता–कार्यकर्ताहरूलाई त्यस्ता दुखद परिणामहरुबाट बचाउनुपर्ने सुझाव पनि दिएका छन्। वैचारिक,राजनीतिक, सैद्धान्तिक र संगठनात्मक एकताका निम्ति हामी सधैं तत्पर हुनुपर्ने तर स्वार्थपूर्ण एकताका प्रस्तावहरुबाट हरबखत सतर्क हुनुपर्ने उनको भनाइ छ।
‘नीतिनिष्ठ, सिद्धान्तनिष्ठ र विधिनिष्ठ एकताका निम्ति भने हामीले सधैं सक्रिय र दृढ बन्नुपर्छ,’ नेता खनालले भनेका छन्।











