प्रधानमन्त्री दाहालले पुस २६ गते विश्वासको मत लिने
प्रधानमन्त्री प्रचण्डले आज (सोमबार) संघीय संसदका महासचिवलाई एक पत्र लेखेर आफूले २६ गते विश्वासको मत लिन चाहेको जानकारी दिँदै संसद्को उक्त दिनको दैनिक कार्यसूचीमा समेट्न आग्रह गरेका छन्।
काठमाडौं, पुस १८ : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पुस २६ गते विश्वासको मत लिने भएका छन्।
प्रधानमन्त्री प्रचण्डले आज (सोमबार) संघीय संसदका महासचिवलाई एक पत्र लेखेर आफूले २६ गते विश्वासको मत लिन चाहेको जानकारी दिँदै संसद्को उक्त दिनको दैनिक कार्यसूचीमा समेट्न आग्रह गरेका छन्। नयाँ प्रतिनिधिसभा बनेपछि यही पुस २५ गते अधिवेशन सुरु हुँदैछ।
नेकपा एमाले, नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा), जनता समाजवादी पार्टी, जनमत पार्टी, नागरिक उन्मुक्ति पार्टीका १६६ र ३ स्वतन्त्र गरी १६९ सांसदको समर्थनमा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड पुस १० मा प्रधानमन्त्री नियुक्त भएका थिए।
मिलिजुली सरकारका प्रधानमन्त्रीले नियुक्तिको ३० दिनभित्र प्रतिनिधिसभाको विश्वास लिनुपर्ने संवैधानिक व्यवस्था छ। सोही व्यवस्थाअनुसार प्रचण्डले विश्वासको मत लिन लागेका हुन्। २७५ सदस्यीय प्रतिनिधिसभाको विश्वास लिन प्रधानमन्त्रीले १३८ सांसदको समर्थन लिनुपर्छ।
संसद सचिवालयका प्रवक्ता डा. रोजनाथ पाण्डेले भने, 'प्रधानमन्त्रीले पत्राचार गरेर नै कार्यसूचीमा समावेश गरिदिनुहुन भनेर आग्रह गर्नुभएको छ । सचिवालयका तर्फबाट हामीले आवश्यक व्यवस्थापन गर्छौं।'
नेपालको संविधानको धारा ७६ को उपधारा २ बमोजिम नियुक्त भएको प्रधानमन्त्रीले सोही उपधाराको ४ बमोजिम प्रतिनिधिसभाबाट विश्वासको मत प्राप्त गर्नुपर्ने प्रावधान छ।
प्रत्यक्ष कूल एक सय ६५ र समानुपातिकतर्फबाट एक सय १० सांसद छन्। मनाङका सांसद टेकबहादुर गुरुङ भने हाल निलम्वनमा छन्।












