सत्तारुढ गठबन्धनमा सामेल हुँदैनाैं : नेपाल
आज (सोमबार) काठमाडौंमा सुरु भएको पार्टी पोलिटब्युरो बैठकमा बोल्दै उनले आफ्नो पार्टी कुनै पनि शक्तिको पछि नलागी राष्ट्र र जनताको हितलाई केन्द्रबिन्दुमा राखेर आफ्नो पार्टी अघि बढ्ने बताए।
काठमाडौं, पुस १८ : नेकपा एकीकृत समाजवादी (नेकपा एस) का अध्यक्ष माधवकुमार नेपालले आफ्नो पार्टी सत्तारुढ गठबन्धनमा सामेल नहुने बताएका छन्। प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'ले सरकारमा सामेल हुन आग्रह गरिरहँदा उनले यस्तो बताएका हुन्।
आज (सोमबार) काठमाडौंमा सुरु भएको पार्टी पोलिटब्युरो बैठकमा बोल्दै उनले आफ्नो पार्टी कुनै पनि शक्तिको पछि नलागी राष्ट्र र जनताको हितलाई केन्द्रबिन्दुमा राखेर आफ्नो पार्टी अघि बढ्ने बताए। ‘हाम्रो पार्टी कुनै पनि शक्तिको पछि लाग्दैन। हामी नेपाली जनताको भावनालाई केन्द्रबिन्दुमा राखेर अघि बढ्न चाहन्छौं,’ उनले भने, 'हामी देशको हितलाई केन्द्रबिन्दुमा राखेर अघि बढन चाहन्छौं।'
सरकारमा सहभािगताबारे निर्णय गर्न शनिबार र आइतबार बसेको स्थायी कमिटी बैठक बिनानिष्कर्ष टुंगिएको छ। यसबारे अधिकार पोलिटब्युरोमा सरेको छ। स्थायी कमिटी बैठकमा अधिकांश नेताले सरकारमा जान नहुने धारणा राखेका थिए। केही नेताले भने सरकारमा सामेल हुनुपर्ने बताएका थिए।
नेपालले मुलुकको पछिल्लो राजनीतिक परिस्थितिको वस्तुनिष्ठ समीक्षा गरेर आफूहरु अघि बढ्ने तर आरोप प्रत्यारोपको राजनीति नगर्ने स्पष्ट पारे। उनले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन गरेपछि पार्टीभित्रै रहेर ती समस्या समाधान गरेर अघि बढ्ने आफूहरुको प्रयास असफल भएकाे र नयाँ पार्टी खोलेर अघि बढ्नु परेको तथ्य बुझ्न नेता-कार्यकर्तालाई आग्रह गरे।
अध्यक्ष नेपालले आफूहरुबाट केही गल्ती भए सच्चिन तयार रहेको बताउँदै कसैले पानीमाथिको ओभानो बन्ने प्रयास गर्न नहुनेमा जोड दिए।
पोलिटब्युरो बैठकमा नेताहरुले सरकारमा पार्टी सहभागी हुने वा नहुने भन्ने विषयमा आआफ्नो धारणा राख्ने एजेन्डा पनि समेटिएकाे पार्टी प्रवक्ता जगन्नाथ खतिवडाले बताए।











