Kathmandu Press

ओली सरकार फाँसीवादतर्फ उन्मुख : गजुरेल

काठमाडौं, पुस १४ : नेपाल कम्युनिष्ट पार्टी (क्रान्तिकारी माओवादी) सम्बद्ध देशभक्त गणतान्त्रिक मोर्चा, नेपालका संयोजक सिपी गजुरेलले वर्तमान सरकार ....

ओली सरकार फाँसीवादतर्फ उन्मुख : गजुरेल

काठमाडौं, पुस १४ : नेपाल कम्युनिष्ट पार्टी (क्रान्तिकारी माओवादी) सम्बद्ध देशभक्त गणतान्त्रिक मोर्चा, नेपालका संयोजक सिपी गजुरेलले वर्तमान सरकार फाँसीवादतर्फ उन्मुख भएको आरोप लगाएका छन्। 

सोमबार काठमाडौंमा पत्रकार सम्मेलन गरी गजुरेलले हिजो सीमा अतिक्रमणबारे उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेललाई ज्ञापनपत्र बुझाउन सिंहदरबार जाने क्रममा आफूहरुलाई गिरफ्तार गरेकोमा आपत्ति जनाउँदै सरकार फाँसीवादतर्फ उन्मुख भएको आरोप लगाएका हुन्।

‘हिजोको घटना पूर्वअनुमान भन्दा बाहिरको घटना हो। हामी सरकारलाई जानकारी गराएर नै ज्ञापनपत्र बुझाउन सिंहदरबार गएका थियौं। तर, प्रहरी ज्यादती भयो। हाम्रा साथीहरुमाथि अन्धाधुन्ध लाठी चार्ज भयो। हामीले प्रधानमन्त्री केपी शर्मा ओलीलाई ज्ञापन पत्र बुझाउन चाहेका थियौं, तर उहाँ पूर्णतयः बेड रेष्टमा भएको खबर उहाँको सचिवालयबाट आएपछि हामीले पनि रक्षामन्त्रीलाई नै ज्ञापनपत्र बुझाउने भनेर समय लिएरनै त्यसतर्फ गएका थियौं,’उनले भने।

नेता गजुरेलले हनुमानस्थान परिसरबाटै आफूहरुमाथि धरपकड भएको बताए।  

उनले भने,‘त्यहाँ खटिएका प्रहरीहरु डिएसपीको कमाण्डमा थिए। हामीले शान्तिपूर्ण रुपमा आफ्नो र्‍याली निकाल्दा किन यसो गरिएको भनेर डिएसपीलाई सोध्दा उहाँले माथिको आदेश भन्नुभयो। हामीले पनि उहाँलाई भन्यौं-माथिको आदेश दिने मान्छे को रैछ? हामी पनि जानौं न भनेर सोध्दा गिरफ्तार गरियो।’ 

उनले हिजो घटेको घटना प्रायोजित भएको दाबी गरे। नेपालको भूमी लिम्पियाधुरा, कालापानी र लिपुलेक राखेर भारतले नयाँ नक्सा निकालेपछि आफूहरुले भारतको सो कदमको विरोध गरेको पनि उनले बताए। 

राष्ट्रिय स्वाधिनताको पक्षमा नारा लगाउँदा आफूहरुको ब्यानर च्यातिएको उनको गुनासो छ। उनले भने,‘राष्ट्रिय स्वाधिनताको पक्षमा बोल्दा हाम्रा ब्यानर च्यातिए। हामीले त सरकारसँग सहकार्य गरेर जान चाहेका थियौं। तर, हामीले नचाहँदा नचाहँदै देशमा ध्रुवीकरण हुन लाग्यो।’

भारतले नेपाली भूमी मिचेर आफ्नो नक्सा जारी गर्दा नेपालले भने आफ्नो नक्सा पनि जारी गर्न नसकेको उनको आरोप छ। 
 

प्रकाशित मिति: १५:५४ बजे, सोमबार, पुस १४, २०७६