यसपालि मन्त्री बन्दिनँ, सरकारबाहिरै बसेर पार्टीको काम गर्छु : वर्षमान पुन
नेता पुन ठूलो मन्त्रालय नपाएर अथवा वरीयता नमिलेर सरकारमा नगएको भन्ने समाचारहरु प्रकाशन भएका थिए ।
काठमाडौं, पुस १७ : नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुनले यसपाली आफू मन्त्री नबन्ने बताएका छन् । आइतबार पत्रकारहरुसँगको कुराकानीमा नेता पुनले यसपाली मन्त्री नबन्ने बताएका हुन् ।
उनले आफू तीनपटकसम्म मन्त्री बनेर काम गरिसकेको बताउँदै यसपटक सरकार बाहिरै बसेर अध्यक्ष प्रचण्ड नेतृत्वको सरकारलाई सफल बनाउन लाग्ने बताए । नेता पुनले सरकार बाहिर रहेर पार्टीको काममा क्रियाशिल हुने बताएका छन् ।
नेता पुन ठूलो मन्त्रालय नपाएर अथवा वरीयता नमिलेर सरकारमा नगएको भन्ने समाचारहरु प्रकाशन भएका थिए । यस सम्बन्धमा उनले धेरै पार्टी मिलेर सरकार बनेको बताउँदै वरियता मिलेर भनेरै सरकारमा नजाने भन्ने नहुने बताए । ‘यसपटक बाहिरै बसेर प्रधानमन्त्रीलाई सहयोग गर्छु, पार्टी सुदृढीकरणको काम पनि गर्छु भनेर हो,’ उनले भने ।
उनले विदेशबाट आउने नेपालीले व्यक्तिगत प्रयोजनका लागि ल्याउने मोबाइल फोनमा लगाइएको प्रतिबन्ध फुकुवा गरेर सरकारले जनपक्षीय कामको थालनी गरिसकेको बताए।











