Kathmandu Press

औपचारिक प्रस्ताव नआएकाले आफैं खोजेर सरकारमा जान नहुने नेकपा एसका नेताहरूकाे धारणा

माओवादी केन्द्रका अध्यक्षसमेत रहेका पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकारमा सहभागी हुन आग्रह गरे पनि औपचारिक रूपमा कुनै प्रस्ताव नपठाएकाले आफैं खोजेर सरकारमा जान नहुने धारणा अधिकांश स्थायी कमिटी सदस्यले राखेको बताइएको छ।
औपचारिक प्रस्ताव नआएकाले आफैं खोजेर सरकारमा जान नहुने नेकपा एसका नेताहरूकाे धारणा

काठमाडौं, पुस १७ : नेकपा एकीकृत समाजवादी (नेकपा एस) को स्थायी कमिटी बैठक जारी छ। शनिबार सुरु भएको बैठकको दोस्रो दिन आज (आइतबार) स्थायी कमिटी सदस्यहरूले पछिल्लो राजनीतिक घटनाक्रमसँगै सरकारमा सहभागिता, सरकारलाई समर्थन, पार्टी एकतालगायत विषयमा धारणा राखिरहेको पार्टी उपमहासचिव एवं कार्यालय सचिव गंगालाल तुलाधरले सञ्चारकर्मीसँग कुराकानी गर्दै जानकारी दिए।

पार्टी कार्यालय आलोकनगरमा बसेको बैठकमा बोल्ने क्रममा वर्तमान सरकारमा सहभागी हुने कि नहुने भन्ने विषयमा नेताहरूले आआफ्नो धारणा राखेका छन्। उनीहरूले वर्तमान सत्ता समीकरण नाटकीय रुपमा तयार भएकाले राम्ररी अध्ययन गरेर मात्र निर्णय लिनुपर्नेमा जोड दिएको तुलाधरले बताए। 

माओवादी केन्द्रका अध्यक्षसमेत रहेका पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकारमा सहभागी हुन आग्रह गरे पनि औपचारिक रूपमा कुनै प्रस्ताव नपठाएकाले आफैं खोजेर सरकारमा जान नहुने धारणा अधिकांश स्थायी कमिटी सदस्यले राखेको बताइएको छ।

यसअघिकै सहकार्यमा रहेका दलहरु मध्ये प्रचण्ड नै नयाँ सरकारको नेतृत्वमा पुगेकाले समर्थन दिन उपयुक्त हुनेमा पनि केही सदस्यहरुको जोड रहेको पनि उनले बताए। ५२ सदस्यीय स्थायी कमिटीमध्ये ३० जनाले बैठकमा आफ्नो धारणा राखिसकेको तुलाधरको भनाइ छ।

सरकारलाई समर्थन गर्नु र सरकारमा जानु फरक विषय भएको र नेकपा एसले समर्थन दिँदा या नदिँदा कुनै असर नगर्ने भएकाले अहिले नै हतार गर्न नहुने राय पनि बैठकमा आएको बैठकमा उनले बताए। औपचारिक प्रस्ताव आएपछि भने विचार गर्नुपर्ने धारणा आएको पनि उनको भनाइ छ।

उनले एमाले, माओवादी केन्द्र वा जनता समावादी पार्टी (जसपा) सँग तत्काल पार्टी एकताबारे कुनै छलफल नगरिएको पनि स्पष्ट पारे। ‘पार्टी एकताको चर्चा एमालेले चलाएको हल्ला हो। पार्टी एकता हुन्छ भनेर हाम्रा नेताकार्यकर्तालाई भुलभुलैयामा राख्न खोजिएको षड्यन्त्र पनि हुन सक्छ,’ उनले भने।

प्रधानमन्त्रीले सरकारलाई समर्थन गर्न आग्रह गरेपनि औपचारिक पत्र नआएसम्म सरकारलाई समर्थन गर्न नसकिने धारणाहरु आएको उपमहासचिव गंगालाल तुलाधरले बताउनुभयो ।

बैठकमा राष्ट्रिय राजनीतिका साथै पार्टीलाई सशक्त बनाउने बिषयमा छलफल भइरहेको उहाले जानकारी दिनुभयो ।

प्रकाशित मिति: १५:११ बजे, आइतबार, पुस १७, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्