Kathmandu Press

पुसको जाडोमा नेपथ्यको न्यानो माया, मानवता प्रवर्धनमा साथ दिन अपिल

मानवता प्रवर्धनका लागि महिनाव्यापी चलेको ‘नेपथ्य लाइभ कन्सर्ट’अन्तर्गत काठमाडौंको प्रस्तुति यसपालिको अन्तिम वा १०औं संगीत यात्रा थियो। 
पुसको जाडोमा नेपथ्यको न्यानो माया, मानवता प्रवर्धनमा साथ दिन अपिल

काठमाडौं, पुस १७ : पुसको जाडोमा नेपालको चर्चित साङ्गीतिक समूह नेपथ्य ब्याण्डले गए राति ८ बजेसम्म भृकुटीमण्डपमा काठमाडौंका दर्शकलाई आफ्नो साङ्गीतिक प्रस्तुतिले ततायो। मानवता प्रवर्धनका लागि महिनाव्यापी चलेको ‘नेपथ्य लाइभ कन्सर्ट’अन्तर्गत काठमाडौंको प्रस्तुति यसपालिको अन्तिम वा १०औं संगीत यात्रा थियो। 

देश दौडाहाका क्रममा जिल्लाका नौवटा कार्यक्रम सकेर काठमाडौँ भित्रिएको नेपथ्यले भृकुटीमण्डपमा झण्डै पाँच हजार सङ्गीत पारखीलाई मज्जाले झुमायो। नेपथ्यका नायक एवं मुख्य गायक अमृत गुरुङले दर्शकले भरिएको भृकुटीमण्डपमा राष्ट्रिय भावनाले ओतप्रोत तथा सदावहार पुराना र चर्चित लोकपप गीत प्रस्तुत गरे। उनी संगीतको दुनियाँमा छुट्टै ब्यान्ड लोकपप सङ्गीतका साथ दर्शकसामु ३३ वर्षदेखि सक्रिय छन्। देश–विदेशमा नेपथ्यको छुट्टै चाम छ।

DSC060711672558300.JPG

Hardik ivf

चिसो मौसममा प्रस्तुत उनका गीतमा दर्शक धुलो उडाएरै नाचे। त्यसो त गुरुङको आफ्नो प्रस्तुति र हाउभाउ नै जुरुकजुरुक पार्ने खालको हुन्छ। आफ्नै सङ्गीतमा गायक आफैँ चुर्लुम्म डुबेपछि दर्शकले भरपूर साथ दिए। दमदार प्रस्तुति भन्दै दर्शकले तारिफ गरे। दर्शकले गुरुङका हरेक गीत पुनः सुन्न चाहे।

नेपथ्य ब्याण्डको प्रसुस्तीको मजा लिन पूर्वप्रधानमन्त्री एवं नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली, मन्त्रिपरिषद्का पूर्वअध्यक्ष खिलराज रेग्मी, नेपाली कांग्रेसका महामन्त्री गगन थापालगायत नेपाल सरकारका सचिव तथा उच्चपदस्थ सरकारी अधिकारी सरिक थिए। ओली र थापाले त कार्यक्रम अवधिभर साथ दिए।

गायक गुरुङका भेडाको उनजस्तो, छेक्यो छेक्यो, उडायो रेलैले, जोमसोमे बजारमा, शिरफूल शिरैमा, यो जिन्दगी, गाउँगाउँबाट उठलगायत गीतले दर्शकलाई उचाले। जिन्दगानी गाउँमा पृष्ठभूमिमा प्रस्तुत भएको आश्रममा आश्रित बेसहारा तथा असहायको तस्वीरले दर्शकलाई सोच्न बाध्य पार्‍यो।

शनिबार नै गायक गुरुङको जन्मदिन परेकाले दर्शकदीर्घाबाटै ‘ह्याप्पी बर्थडे’को शुभकामना लगायातर आइरह्यो। गायक गुरुङले शिर निहुर्‍याएर सबैलाई धन्यवाद दिए। गीतसङ्गीतको बीच–बीचमा सन्देशमूलक भावना व्यक्त गरी उनले सामाजिक सचेतना जगाउने काम पनि गरे।

DSC060601672558300.JPG

कसैले नगरेको काम मानवसेवा आश्रमले गरेकाले आफ्नो तर्फबाट सक्दो सहयोग गरेर पुण्य कमाउन र मानवसेवा आश्रमले निर्माण गरिरहेको भवन (मानवताको मन्दिर) मा सहयोग गर्न गायक गुरुङले मञ्चबाटै आह्वान गरे। उनले भने, 'मानवसेवाका लागि आश्रमलाई धन हुनेले धन दिउँ, नहुनेले श्रम दिउँ।'

त्यसपछि उनले जोगले हुन्छ भेट, मै नाचे छमछमीपछि रेशम र तालको पानी गाउँमा दर्शकले थप मच्चीमच्ची नाचेर मनोरञ्जन लिए। प्यारापिटमा रहेका पूर्वप्रधानमन्त्रीसहितका अतिथिले तालीले साथ दिनुभयो। गायक गुरुङले बेलाबेलामा गायकी रोकेर उपस्थित राजनीतिज्ञलाई इङ्गित गर्दै अब देश विकासमा एकीकृत भएर लाग्न र विकासको मूल फुटाउन आग्रह गरे। उनले मुलुकको विकास हामी आफैंले गर्ने हो भन्ने सन्देश पनि बाँड्नुभयो। गायक गुरुङले नेपालमा रोजगारी सिर्जना गरी विदेश जानबाट रोक्न पनि राजनीतिक नेतृत्वलाई आग्रह गरे।

मानवता प्रवद्र्धनका लागि गत मङ्सिर १९ गते विराटनगरबाट सुरु भएको नेपथ्य सङ्गीत यात्राले पुस १६ गते शनिबार काठमाडौँमा आएर विट मार्‍यो। यसअघि मङ्सिर १९ गते वीरगञ्ज, २२ गते हेटौँडा, २५ गते चितवन, २९ गते नेपालगञ्ज, पुस ३ गते धनगढी, ६ गते सुर्खेत, ९ गते बुटवल र पुस १२ गते पोखरामा नेपथ्य गुञ्जिएको थियो। हरेक कार्यक्रममा कम्तीमा पाँच हजारदेखि आठ हजारसम्म दर्शक सहभागी भएका थिए। 

DSC060651672558300.JPG

कार्यक्रम मानवता प्रवर्धनका साथै मानवसेवा आश्रममा आश्रितका लागि खाना, नाना र छाना जुटाउन, देशैभरका निर्माणाधीन भवन सम्पन्न गर्न तथा अक्षयकोष निर्माणका लागि कोसेढुंगा हुने आश्रमका अध्यक्ष रामजी अधिकारीले बताए। एक दशकअघि २०६९ सालमा स्थापना भएको उक्त आश्रममा हाल १ हजार ६ सय सडकआश्रित व्यक्ति संरक्षित छन्। देशका १९ जिल्लामा २३ शाखामार्फत सेवा गर्दै आएको आश्रमले आगामी २०८२ सालसम्ममा मुलुकका सडकपेटीमा बेवारिसे व्यक्ति नरहने अवस्था सिर्जना गर्ने योजना अघि बढाएको छ। 

प्रकाशित मिति: १३:०३ बजे, आइतबार, पुस १७, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्