माओवादीको सुदूरपश्चिम प्रदेश संसदीय दलको नेतामा खगराज भट्ट सर्वसम्मत

काठमाडौं, पुस १७ : नेकपा माओवादी केन्द्र सुदूरपश्चिम प्रदेश संसदीय दलको नेतामा खगराज भट्ट सर्वसम्मत चयन भएका छन् । आइतबार बिहान बसेको प्रदेश संसदीय दलको बैठकले भट्टलाई दलको नेता चयन गरेको हो ।
दलको नेता चयन भएका भट्ट पार्टीको स्थायी कमिटी सदस्य तथा सुदूरपश्चिम प्रदेश इन्चार्ज समेत हुन् । यसअघि केन्द्रीय सदस्य समेत रहेका ओमबिक्रम भाटले पनि दलको नेतामा दाबी गरेका थिए । तर, अन्तिममा उनले पनि भट्टलाई दलको नेतामा समर्थन गरेका हुन् ।
दलको नेतामा चयन भएका भट्ट डेडेल्धुराको प्रदेशसभा (क) बाट निर्वाचित भएका थिए । नेपाली कांग्रेसको नेतृत्वमा रहेको तत्कालीन सत्तारुढ गठबन्धनका साझा उम्मेदवार बनेका उनलाई भावी मुख्यमन्त्रीका रुपमा अघि सारिएको थियो ।
मुख्यमन्त्री बनाउने समझदारीअनुसार नै आफू प्रदेशसभाको चुनाव लडेको बताउने गरेका भट्ट दलको नेता चयन भएसँगै उक्त बाटो पनि खुलेको छ ।
एमाले नेतृत्वमा बनेको नयाँ गठबन्धनमा पनि सुदूरपश्चिम माओवादीको भागमा पर्ने सम्भावना छ । माओवादीको भागमा परेको अवस्थामा भट्ट नै मुख्यमन्त्री बन्नेछन् ।











