पोखरा अन्तर्राष्ट्रिय विमानस्थल उद्घाटन आज, पोखरामा सार्वजनिक विदा
बिहान पहिलो उडानबाट विमानस्थलमा अवतरण गर्ने जहाजका चालक दल तथा यात्रुलाई फूलमालाले स्वागत गरिने छ।
काटमाडौं, पुस १७ : पोखरा अन्तर्राष्ट्रिय विमानस्थल आजबाट सञ्चालनमा आउँदै छ। चिनियाँ कम्पनी सीएएमसी इन्जिनियरिङले निर्माण गरेको विमान स्थाल आज प्रधानमन्त्री पुष्पकमल दाहालले एक भव्य समारोहबीच उद्घाटन गर्नेछन्।
बिहान पहिलो उडानबाट विमानस्थलमा अवतरण गर्ने जहाजका चालक दल तथा यात्रुलाई फूलमालाले स्वागत गरिने छ। अमरसिंह चोकदेखि विमानस्थलसम्म विभिन्न जातजातिको साँस्कृतिक झाँकीसहित र्याली निकाल्ने तयारी छ।
पोखराका गौरवका रुपमा रहेको विमानस्थाल उद्घाटन समारोहलाई भव्य बनाउन पोखरा महानगरभित्र आज सार्वजनिक विदा दिइएको छ। विमानस्थल उद्घाटन समारोहलाई भव्य बनाउन र व्यापक जनसहभागिता गराउन बिदा दिइएको महानगर प्रमुख धनराज आचार्यले बताए।
महानगरले निजी क्षेत्रलाई बिदा दिएर उत्सवमा सहभागी हुन आग्रह गर्दै साँझ घरघरमा दीपावली गर्नका लागि महानगरवासीमा अनुरोध गरेको छ।
पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा फेब्रुअरी २३ देखि दैनिक १८ घन्टा उडान हुने विमानस्थलका निर्देशक बिक्रम गौतमले बताए ।











