Kathmandu Press

प्रचण्डकाे प्रतिबद्धता : यसपटक भाषण कम र काम धेरै गर्छु

‘सार्वजनिक कार्यक्रममा लम्बेतान भाषण गर्ने आफ्नो विगतलाई सच्याउँदै अब भाषण कम गरेर नागरिकको सेवामा जुट्ने प्रण गरेको छु,’ उनले भने। सोहीबमोजिम उनले उद्घाटन कार्यक्रममा संक्षिप्त सम्बाेधन गरे।
प्रचण्डकाे प्रतिबद्धता : यसपटक भाषण कम र काम धेरै गर्छु

चितवन, पुस १६ : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अब आफू भाषण कम र काम धेरै गर्ने वाचा गरेका छन्। आज (शनिबार) चितवनको नारायणी नमुना माध्यमिक विद्यालयको हीरक महोत्सवको उद्घाटन गर्दै उनले त्यस्तो वाचा गरेका हुन्। 

‘सार्वजनिक कार्यक्रममा लम्बेतान भाषण गर्ने आफ्नो विगतलाई सच्याउँदै अब भाषण कम गरेर नागरिकको सेवामा जुट्ने प्रण गरेको छु,’ उनले भने। सोहीबमोजिम उनले उद्घाटन कार्यक्रममा संक्षिप्त सम्बाेधन गरे।

यसपटक हरेक दिन देशको पक्षमा, नागरिकको पक्षमा, सुशासन र विकासको पक्षमा काम गर्दै जाने, नेपाल र नेपाली जनताको आवश्यकतालाई सम्बोधन गर्ने प्रतिबद्धतामा आफू नचुक्ने उनको भनाइ थियो।

‘यसपटक हरेक दिन देशको पक्षमा, जनताको पक्षमा, सुशासनको पक्षमा, विकासको पक्षमा काम गर्दै जाने र नेपाल र नेपाली जनताको आवश्यकतालाई पूरा गर्दै जाने प्रतिबद्धता लिएको छु,’ उनले भने, ‘मैले बाँकी जीवन विकास र सुशासनका लागि समर्पित गर्ने भनेर भनेको छु।’

देशमा सुशासन कायम गर्न र भ्रष्टाचार र बेथितिको अन्त्य गर्न आफूले पहिलो मन्त्रिपरिषद बैठकबाटै निर्णय गरेको पनि प्रधानमन्त्री प्रचण्डले बताए। उनले सुशासन र समृद्धिको नयाँ युगको सूत्रपात गर्न सबैलाई एकजुट हुन अपिलसमेत गरे।

प्रसंग बदल्दै उनले कुनै पनि राष्ट्रको सभ्यता र संस्कृतिको अनुशासन र विकासको आधारशिला भनेको शिक्षा भएको बताए। ‘शिक्षाको गुणस्तरद्वारा नै एउटा सभ्य र अनुशासित समाजको निर्माण गर्न सकिन्छ र विकासलाई पनि दिगो रूपमा अघि बढाउन सम्भव हुन्छ,’ उनले भने। 

प्रकाशित मिति: १५:२७ बजे, शनिबार, पुस १६, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्