एमाले अध्यक्ष ओली र मन्त्री रवि लामिछानेबीच भेटवार्ता
उनीहरुका बीचमा सरकारको न्यूनतम साझा नीति तथा कार्यक्रम, समसामयिक विषय, आगामी रणनीति र मन्त्रालय बाँडफाँटबारे पनि छलफल भएको बताइएको छ।
काठमाडाैं, पुस १६ : एमालेका अध्यक्ष केपी शर्मा ओली र उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेबीच भेटवार्ता भएको छ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापतिसमेत रहेका मन्त्री लामिछाने भेटवार्ताका लागि आज (शनिबार) ओली निवास बालकोट पुगेका थिए।
गृहमन्त्री लामिछानेले मन्त्रालय मातहतका एकाइहरुमा सुधारका लागि गरेको प्रयासका बारेमा अध्यक्ष ओलीलाई जानकारी गराएकाे बुझिएको छ।
अध्यक्ष ओली र गृहमन्त्री लामिछानेबीच सत्ता गठबन्धनको सहकार्यदेखि सरकारको कामको प्रभावकारिकता र गृह प्रशासन सञ्चालनका सन्दर्भमासमेत छलफल भएको लामिछानेको सचिवालयले जनाएको छ।
उनीहरुका बीचमा सरकारको न्यूनतम साझा नीति तथा कार्यक्रम, समसामयिक विषय, आगामी रणनीति र मन्त्रालय बाँडफाँटबारे पनि छलफल भएको बताइएको छ।
यसअघि गृहमन्त्री लामिछाने प्रधानमन्त्री पुष्पकमल दहाललाई पनि भेटेका थिए। लामिछाने प्रधानमन्त्री दहाललाई भेट्न शनिबार बिहान प्रधानमन्त्री निवास बालुवाटार पुगेका थिए।











