मेलमिलाप दिवसका अवसरमा कांग्रेस महामन्त्रीद्वयकाे सातबुँदे प्रतिबद्धता
कांग्रेसले अलमलमा बसेर जनताको विश्वास फर्काउन नसक्ने बताउँदै उनीहरूले अविलम्ब पार्टीको संरचना र संगठन गतिशील र चुस्त बनाउनुपर्ने आवश्यकता औंल्याएका छन्। केन्द्रदेखि टोलसम्म जागरण कार्यक्रम सञ्चालन गर्दै नीति महाधिवेशन गर्नुपर्ने उनीहरूको भनाइ छ।
काठमाडाैं, पुस १७ : कांग्रेस महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्माले कांग्रेस ठुलो पार्टी भएर पनि प्रतिपक्षमा रहनुपर्ने अवस्था आउँदा पार्टी पंक्तिमा गम्भीर असन्तुष्टि, आक्रोश र उदाशी छाउनु अस्वाभाविक नभएको बताएका छन्।
मेलिमलाप दिवसका अवसरमा आज (शनिबार) सातबुँदे संयुक्त वक्तव्य जारी गर्दै महामन्त्रीद्वय थापा र शर्माले कांग्रेसले गम्भीर आत्मसमीक्षा र आत्ममूल्यांकन गर्दै सुविचारित ढंगबाट अबको बाटो तय गर्नुपर्नेमा जोड दिएका छन्।
'यस क्षणमा हाम्रा दुईवटा दायित्व छन्- पहिलो, आग्रह र पूर्वाग्रहमुक्त भएर संयमतापूर्वक समग्र घटनाक्रम र त्यसबाट उत्पन्न परिस्थितिको ईमानदार समीक्षा गर्ने । दोस्रो, यसबिचमा हाम्रो असावधानी, कमजोरी र गल्ती जो भएको छ, त्यसलाई कुनै ढाकछोप नगरी स्वीकार्दै खुला र पारदर्शी छलफल मार्फत कारण र कारकको प्रष्ट पहिचान गरेर अबको मार्गचित्र तय गर्ने,' वक्तव्यमा भनिएकाे छ, 'नेपाली कांग्रेसले गम्भीर आत्मसमीक्षा र आत्ममुल्याङ्कन गर्दै सुविचारित ढंगबाट अबको बाटो तय गर्नेछ।'
कांग्रेसले अलमलमा बसेर जनताको विश्वास फर्काउन नसक्ने बताउँदै उनीहरूले अविलम्ब पार्टीको संरचना र संगठन गतिशील र चुस्त बनाउनुपर्ने आवश्यकता औंल्याएका छन्। केन्द्रदेखि टोलसम्म जागरण कार्यक्रम सञ्चालन गर्दै नीति महाधिवेशन गर्नुपर्ने उनीहरूको भनाइ छ।
कांग्रेसले अब आफू बदलिएर देशको मुहार बदल्ने सपना र संकल्प पनि देखाउन सक्नुपर्ने बताउँदै उनीहरूले ‘बदलिएको कांग्रेस र बलियो कांग्रेस’काे सुस्पष्ट खाका बनाउन कांग्रेसजन जुर्मुराउनुपर्ने धारणा पनि अघि सारेका छन्।
कांग्रेसका संस्थापनक नेता एवं जननिर्वाचित पहिलो प्रधानमन्त्री बिपी कोइरालाले २०३३ पुस १६ मा लिएको ‘राष्ट्रिय एकता तथा मेलमिलाप’ अहिले पनि उत्तिक सान्दर्भिक रहेको भन्दै उनीहरूले प्रतिकूलतामा गम्भीरता, नवीनताको प्रतिबद्धता भन्दै आफ्ना प्रतिबद्धता सार्वजनिक गरेका हुन् ।
२०३३ मा कांग्रेस नेता गणेशमान सिंह, नेतृ शैलजा आचार्य, नेता खुमबहादुर खड्का, रामबाबु प्रसाइँ, नीलाम्बर पन्थीलगायत नेता कार्यकर्ता राष्ट्रिय एकता तथा मेलमिलापको नीति लिई करिब आठ वर्ष लामो निर्वासित जीवन त्याग गरी स्वदेश फर्किएका थिए।














