मधेस प्रदेशका सांसदहरूले लिए शपथ
शुक्रबार जनकपुरस्थीत प्रदेशसभामा ज्येष्ठ सदस्यको हैसियतले प्रदेशसभा सदस्य गोविन्द बहादुर न्यौपानेले नवनिर्वाचित प्रदेशसभा सदस्यहरूलाई शपथ गराएका हुन्।
जनकपुरधाम, पुस १५ : मधेस प्रदेशका नवनिर्वाचित प्रदेशसभा सदस्यहरुले पद तथा गोपनीयताको शपथ लिएका छन्।
शुक्रबार जनकपुरस्थीत प्रदेशसभामा ज्येष्ठ सदस्यको हैसियतले प्रदेशसभा सदस्य गोविन्द बहादुर न्यौपानेले नवनिर्वाचित प्रदेशसभा सदस्यहरूलाई शपथ गराएका हुन्।
सो क्रममा नेकपा माओवादी केन्द्रका २ सांसदले शपथ लिन पाएनन्। समानुपातिकतर्फ निर्वाचित सप्तरीकी माला कर्ण र मो. रजी हैदरलाई अदालतको आदेशका कारण शपथग्रहण नगराइएको प्रदेशसभा सचिवालयले जनाएको छ। मधेस प्रदेशसभामा एमालेले प्रत्यक्षमा १५ र समानुपातिक ८ गरी २३ सिट पाएर पहिलो दल बनेको छ।
यस्तै नेपाली कांग्रेस प्रत्यक्षमा १३ र समानुपातिकमा ९ गरी २२ सिट पाएर दोस्रो, जनता समाजवादी पार्टी प्रत्यक्षमा ९ र समानुपातिकमा ७ गरी १६ सिट पाएर तेस्रो, जनमत पार्टी प्रत्यक्षमा ६ र समानुपातिकमा ७ गरी १३ सिटसहित चौथो दल बनेको छ।
यस्तै लोसपाले प्रत्यक्षमा ७ र समानुपातिकमा २ गरी ९ सिट पाएर पाँचौँ, माओवादी केन्द्र प्रत्यक्षमा ४ र समानुपातिकमा ४ गरी ८ सिट पाएर छैठौं तथा एकीकृत समाजवादी प्रत्यक्षमा ४ र समानुपातिकमा ३ गरी ७ सिट पाएर सातौँ दल बनेको छ। मधेस प्रदेशसभामा राप्रपा, नेपाल संघीय समाजवादी पार्टी र नागरिक उन्मुक्ति पार्टीले समानुपातिकमा १–१ सिट पाएका छन्।











