प्रचण्डलाई चिनियाँ समकक्षी लीकाे लिखित बधाई, नेपालको समृद्धिमा सघाउने प्रतिबद्धता
प्रधानमन्त्री लीले नेपालस्थित चिनियाँ दूतावासमार्फत प्रचण्डलाई पठाइएको बधाईपत्रमा कार्यकाल सफल हुने आशा व्यक्त गर्दै नेपालको स्थायित्व, विकास र समृद्धि चीन सँधै साथमा रहने उल्लेख छ।
काठमाडौं, पुस १५ : चिनियाँ प्रधानमन्त्री ली खछ्याङले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई लिखित बधाई सन्देश पठाउँदै चीनको सधैं साथ रहने बताएका छन् ।
प्रधानमन्त्री लीले नेपालस्थित चिनियाँ दूतावासमार्फत प्रचण्डलाई पठाइएको बधाईपत्रमा कार्यकाल सफल हुने आशा व्यक्त गर्दै नेपालको स्थायित्व, विकास र समृद्धि चीन सँधै साथमा रहने उल्लेख छ। दूतावासले प्रधानमन्त्रीलाई उक्त पत्र आज (शुक्रबार) हस्तान्तरण गरेको हो।
प्रचण्ड नेतृत्वको सरकारसँग मिलेर काम गर्न चीन इच्छुक रहेको पत्रमा उल्लेख छ। दुवै मुलुकका जनताका लागि रणनीतिक साझेदारी कार्यक्रमलाई अघि बढाउने अपेक्षा समेत व्यक्त गरेका छन् ।
‘तपाईं नेतृत्वको सरकारले नेपालको दिगो सामाजिक र आर्थिक विकासमा महत्वपूर्ण कदम चाल्ने आशा छ। नेपालको स्थायित्व, विकास र समृद्धिका लागि चीन सधैं साथमा रहनेछ,’ बधाईपत्रमा भनिएको छ, ‘तपाईंको यो कार्यकाल सफल हुनेमा चीन विश्वस्त छ, पूर्ण सहयोग हुने विश्वास दिलाउन चाहन्छ।’
पत्रमा दुई देशबीचको सम्बन्ध थप प्रगाढ बनाउने विश्वास व्यक्त गरिएको छ।











