Kathmandu Press

उच्च हिमाली क्षेत्रको सीमा सुरक्षामा बाह्रै महिना सशस्त्र खटाउने तयारी

सरकारले सशस्त्र प्रहरी नियमावली संशोधन गरी उनीहरूले पाउने स्केलका सामानमा संशोधन र थप गर्दै ‘हिमाली चुस्ता’ र ‘डाउन ज्याकेट’ पाउने व्यवस्था थप गरेको छ ।
उच्च हिमाली क्षेत्रको सीमा सुरक्षामा बाह्रै महिना सशस्त्र खटाउने तयारी

काठमाडौं, पुस १५ : सरकारले बाह्रै महिना उच्च हिमाली क्षेत्रको सीमा सुरक्षामा सशस्त्र प्रहरी खटाउने तयारी गरेको छ। बाह्रै महिना सीमा सुरक्षामा खटाउने प्रयोजनका लागि पोसाकसम्बन्धी सुविधासमेत संशोधन गरिएको छ। सरकारले सशस्त्र प्रहरी नियमावली संशोधन गरी उनीहरूले पाउने स्केलका सामानमा संशोधन र थप गर्दै ‘हिमाली चुस्ता’ र ‘डाउन ज्याकेट’ पाउने व्यवस्था थप गरेको छ। 

सशस्त्र प्रहरीलाई अहिलेसम्म ‘स्नो पार्क’ ज्याकेट मात्र दिने गरिएको थियो  । सशस्त्र प्रहरी स्रोतका अनुसार अबदेखि बाह्रै महिना उच्च हिमाली क्षेत्रको सीमा सुरक्षामा खटाउने प्रयोजनका लागि तातो र न्यानो पोसाकको प्रबन्ध गरिएको हो। उच्च हिमाली क्षेत्रको जाडो स्नो पार्क ज्याकेटले मात्र थेग्न नसक्ने भन्दै प्रहरीद्वारा बाक्लो ज्याकेटको माग हुँदै आएको थियो। स्नो पार्क ज्याकेट मात्र प्रभावकारी नभएको ठहरसहित नियमावलीमै व्यवस्था गरेर डाउन ज्याकेट समेत पाउने व्यवस्था गरिएको छ। 

यसअघि दिइँदै आएको कटन प्याडेट युनिफर्म सुटको सट्टा सशस्त्र प्रहरीका लागि न्यानो हिमाली चुस्ता पनि थप गरिएको छ। सशस्त्र प्रहरीको नियमावली संशोधनसम्बन्धी सूचना ११ पुसमा राजपत्रमा प्रकाशित भएको छ । कर्मचारीका व्यावहारिक समस्या समाधान गर्न र कतिपय विषयमा समानताका लागि नियमावली संशोधन भएको सशस्त्र प्रहरी बलले जनाएको छ । नियमावलीले सशस्त्र प्रहरी कर्मचारीको मनोबल बढ्ने सशस्त्र प्रहरी प्रवक्ता एसएसपी पुरुषोत्तम थापाले बताए ।

उच्च हिमाली क्षेत्रमा कार्यरत सशस्त्र प्रहरीलाई जाडो छेक्ने गतिलो पोसाक थिएन । नियमावलीमा पोसाक तथा अन्य सामानहरू पनि हेरफेर गरिएको छ  । सशस्त्र प्रहरी कर्मचारीका लागि ट्रयाकसुट र स्पोर्टस् जुत्ता थपिएका छन्। नियमावली अनुसार अब सशस्त्र प्ररहीले एक वर्षमा एकएक जोर ट्रयाकसुट र स्पोर्टस् जुत्ता पाउने छन्। यो सुविधा वर्षमा एक–एक जोरका दरले उपलब्ध हुने भनिएको छ। 

यस्तै सिनियर अधिकृतहरूले पाउँदै आएको टपबुट अबदेखि जुनियर अधिकृतले पनि पाउने छन्। सेरिमोनियल ड्रेस पाउने लिमिट पनि खारेज गरिएको छ। अहिलेसम्म राजपत्रांकित अधिकृतहरूका लागि मात्र गर्मी र जाडो मौसममा उपलब्ध गराईंदै आएको सेरिमोनियल ड्रेस आयन्दा सबै सशस्त्र प्रहरी कर्मचारीले पाउने छन्। 

नियमावली अनुसार स्वास्थ्य प्राविधिक सशस्त्र प्रहरी कर्मचारीले प्रत्येक वर्ष सेतो ‘टेरिकटन स्क्रबस’ पनि पाउने छन्। अहिलेसम्म स्वास्थ्य प्राविधिक सशस्त्र प्रहरी कर्मचारीले दुई वर्षमा मात्र सेतो टेरिकटन एप्रोन पाउँथे। यसै वर्षदेखि नियमित कम्बल पनि वितरण गरिने भएको छ। 

प्रकाशित मिति: १५:५२ बजे, शुक्रबार, पुस १५, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्