देशैभरि तमू ल्हाेसारकाे उल्लास (तस्बिरहरू)
यस वर्ष गुरुङ समुदायले पुस १४ गते राति १२ बजे बाघ वर्ग (तो ल्हो) लाई बिदाइ गर्दै बिरालो वर्ग (हि ल्हो) लाई स्वागत गरेका छन्।
काठमाडौं, पुस १५ : तमू ल्होसार गुरुङ जातिको महान चाड हो। हरेक वर्ष पुस १५ गते यो पर्व मनाउने चलन छ। गुरुङ समुदायले पुरानो वर्षलाई बिदाइ गरी नयाँ वर्षलाई स्वागत गरेर ‘तमू ल्होसार’ पर्व मनाउँछन्।

‘ल्हो’को अर्थ वर्ष र ‘सार’को अर्थ फेरिनु भएकाले वर्ष फेरिने दिनलाई ‘तमू ल्होसार’ भनिएको गुरुङ समुदायको विश्वास छ। यस वर्ष गुरुङ समुदायले पुस १४ गते राति १२ बजे बाघ वर्ग (तो ल्हो) लाई बिदाइ गर्दै बिरालो वर्ग (हि ल्हो) लाई स्वागत गरेका छन्।
परापूर्वकालमा गुरुङ समुदायले वर्षलाई गन्न १२ जनावरको नामबाट नयाँ वर्षको नामकरण गरेका हुन्। मुसा, गाई, बाघ, बिरालो, सुगा, सर्प, घोडा, भेडा, बाँदर, चरा, कुकुर र मृग गरी १२ जनावरका नामबाट वर्षको नामकरण गर्ने प्रचलन गुरुङ समुदायमा रहेको छ। प्राचीन तमू प्यो शास्त्रअनुसार तमू ल्होसारको दिन तमूहरूका प्रथम महापुरुषको उत्त्पति भएको मानिन्छ।

यो चाड खासगरी नेपालमा गुरुङ समुदायको बसोबास रहेका भूभागमा धुमधामका साथ मनाइन्छ। विश्वका विभिन्न देशमा पुगेका गुरुङ समुदायले पनि यो पर्व मनाउँछन्।

तमू ल्होसारमा दाजुभाइ आफन्त, नाताकुटुम्ब भेला भएर सामूहिक रूपमा खाना खाने यो पर्वमा मौलिक सांस्कृतिक नाचगान गर्ने, मान्यजनबाट आशीर्वाद लिने, परम्परागत जातीय वेषभूषा लगाउने चलन छ। यो पर्वका बेला घाटु, सोरठी र चुड्का भनेर प्रचलित कौडा नाचेर आफन्त, परिवार र साथीभाइसँग रमाइलो गरिन्छ।

यस वर्ष तमू ल्होसारका अवसरमा काठमाडौंको वसन्तपुर हुँदै टुँडिखेलसम्म मौलिक वेशभूषासहित गुरुङ युवायुवती गरेका झाँकीले साे क्षेत्र रौनकमय बन्यो। परम्परागत गुरूङ पहिरनमा सजिएर उनीहरूले गुरुङ समुदायमा आदिमकालदेखि प्रचलित ठाडो भाका, चुट्का, कौडा, सोरठी नाचसँगै खैजडी, च्याबुङ तथा मादलको धुन बजाएर रमाइलाे गरे।

तमू ल्होसारका अवसरमा 'तमू ह्युल छोंज धीं गुरुङ राष्ट्रिय परिषद काठमाडौं' द्वारा टुडिखेलमा आयोजित कार्यक्रमको प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) ले उदघाटन गरे।



तस्बरहरू ः रासस











