कम्बोडिया क्यासिनो आगलागी घटना : झापाका निराकर पाण्डे, जसले १२ तला माथिबाट हाम फाल्नुअघि डेढ घण्टा परिवारसँग भिडियो कल गरे
भिडियो कलमा उनले आफ्नो अवस्थाबारे जानकारी गराउँदै होटलको १२औं तलामा आफू रहेको र अब त्यहाँबाट हाम फाल्नुको विकल्प नरहेको बताएका थिए।परिवारजनले त्यसो नगर्न आग्रह गरेका थिए।
काठमाडौं, पुस १५ : कम्बोडियाको एक होटल क्यासिनोमा भएको भीषण आगलागीमा परेर एकजना नेपाली नागरिकको मृत्यु भएको छ।
मृत्यु हुने ती नेपाल नागरिक झापाको बिर्तामोड नगरपालिका-१ का ४० वर्षीय निराकार पाण्डे हुन्। उक्त आगलागीमा उनीसहित १९ जनाको मृत्यु भएको जनाइएको छ।
ज्यान जोगाउन क्यासिनोको १२औं तलाबाट हाम फाल्दा उनको मृत्यु भएको जनाइएको छ। हाम फाल्नुअघि उनले झापामा रहेका आफ्ना परिवारका सदस्यहरूसँग भाइबरमा डेढ घन्टा भिडियो कल गरेका थिए। उक्त भिडियो अहिले सार्वजनिक भएको छ। पाण्डेका बुबा बिर्तामोड १ का वडाध्यक्ष हुन्।
थाइल्याण्डस्थित नेपाली दूतावासमार्फत शव नेपाल ल्याउने पहल भइरहेको बताइएको छ। पाण्डे व्यवसायको सिलसिलामा एक महिनाअघि भिजिट भिसामा कम्बोडिया गएको बुझिएको छ। चाँडै घर फर्किने तयारीमा रहेका उनी त्यहाँको ग्रान्ड डायमन्ड सिटी बिल्डिङमा रहेको होटल क्यासिनोको १२औं तलामा उनी बसेका थिए। आगो लागेको र आफू बच्न नसक्ने सम्भावना देखेपछि उनले परिवारलाई भिडियो कल गरेका थिए।
भिडियो कलमा उनले आफ्नो अवस्थाबारे जानकारी गराउँदै होटलको १२औं तलामा आफू रहेको र अब त्यहाँबाट हाम फाल्नुको विकल्प नरहेको बताएका थिए। परिवारजनले त्यसो नगर्न आग्रह गरेका थिए।
स्थानीय समयअनुसार बिहीबार राति साढे ११ बजेपछि उक्त होटलमा आगो लाग्न सुरु भएको थियो। आगलागी भएपछि केही व्यक्ति भवनबाट हाम फाल्दै गरेका भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भएका थिए।
पाण्डेले हाम फाल्नुअघि परिवारका सदस्यसँग गरेको कुराकानीको एउटा भिडियो सार्वजनिक भएको छ। भिडियोमा उनले छोरालाई धेरै माया गर्ने बताउँदै बताएका छन्। ‘राम्रो मान्छे बन्नु है छोरा। कसैलाई चिट गर्नुहुन्न, फ्रड गर्नुहुन्न। आफूले सकेको सहयोग गर्नुपर्छ है छोरा। अनि त्यसपछि विशेष गरी मामाहरूलाई कहिल्यै पनि चित्त नदुखाउनू। माइजुहरूलाई चित्त नदुखाउनू,’ उनले छोरालाई सम्झाउँदै भनेका छन्।
उनले यो पनि भनेका छन्, ‘सानु, मेरो आँखाको नानी बाबु, म तिमीलाई धेरै माया गर्छु है। बाबा अलवेज लभ्स यू। जहाँ भए पनि जसरी बसे पनि बाबाले तिमीलाई सधैं सम्झनुहुन्छ है, बाबु है। आर्मन इज द बेस्ट है सानु।’
बिर्तामोडमा रहेका हजुरबुबा–हजुरआमा र मामाघरतर्फका हजुरबा–हजुरआमालगायतलाई पनि माया गर्न छोरालाई आग्रह गरेका छन्। उनले छोरालाई भनेका छन्‚ ‘मामुलाई धेरै माया गर्नू, अग्नि बुवा, लीला मामुलाई माया गर्नू है। लमजुङको बुबामामुलाई माया गर्नू। सबैभन्दा ठुलो कुरा राम्रो मान्छे बन्नुपर्छ है छोरा।’
उनले साथी दिनेश सिलवाललाई पनि सम्झेका छन्, जसलाई उनले उमेरले कान्छो भए पनि दाइ भन्ने गरेका छन्। पाण्डेले एक भिडियो सन्देशमार्फत दिनेशलाई आफ्नो परिवारको ख्याल राखिदिन आग्रह गरेका छन्।
४०० जना कार्यरत रहेको उक्त क्यासिनोमा आगलागी भएपछि विद्युत् अवरुद्ध भएको र कोठाकोठामा रहेका मानिस बाहिर निस्कन नसकेकाले धेरै मानिसको मृत्यु भएको अन्तर्राष्ट्रिय समाचार संस्था सिएनएनले जनाएको छ।











