Kathmandu Press

प्रहरी प्रधान कार्यालय पुगेर गृहमन्त्री लामिछाने भने- सरुवाबढुवाका लागि नेताहरुको घर चहारे कारबाही

प्रहरी कर्मचारीको सरुवाबढुवा मापदण्डभन्दा बाहिर गएर नहुने धारणा पनि उनले राखे। उनले राम्रो काम गर्नेलाई पुरस्कृत र आचरण विपरीत चल्नेलाई दण्डित गर्ने उनकाे भनाइ थियाे। 
प्रहरी प्रधान कार्यालय पुगेर गृहमन्त्री लामिछाने भने- सरुवाबढुवाका लागि नेताहरुको घर चहारे कारबाही

काठमाडौं, पुस १५ : उपप्रधान एवं गृहमन्त्री रवि लामिछाने प्रहरी प्रधान कार्यालय नक्साल पुगेका छन्। गृहमन्त्री बनेको पाँच दिनपछि उनी पहिलो पटक निरीक्षणका लागि प्रहरी प्रधान कार्यालय पुगेका हुन्।

त्यसक्रममा मन्त्री लामिछानेले सरुवाबढुवा माग्दै कुनै पनि प्रहरी कर्मचारी नेताहरुको घरघर पुगेको थाहा पाए कारबाही गर्ने चेतावनी दिए। आफूले प्रहरीभित्रका विकृति राम्ररी बुझेको उनको भनाइ थियो। गलत क्रियाकलाप भएको पाइए कसैको कुरा आफूले नसुन्ने उनको भनाइ थियो।

प्रहरी कर्मचारीको सरुवाबढुवा मापदण्डभन्दा बाहिर गएर नहुने धारणा पनि उनले राखे। उनले राम्रो काम गर्नेलाई पुरस्कृत र आचरण विपरीत चल्नेलाई दण्डित गर्ने उनकाे भनाइ थियाे। 

 ‘सरुवाबढुवाको कुरा लिएर नेताका घरघर जाने चलनको अन्त्य गरिनेछ। हाम्रो भन्दा पनि राम्रो मान्छे प्राथमिकतामा पर्नेछन्,’ उनले भने,  ‘हिजोका दिनमा जे–जे भएभए, आगामी दिनमा कसैबाट कानुनविपरीत क्रियाकलाप नहोस्, विकृति विसंगतिका अन्त्य गर्नु जरुरी छ।’

मन्त्री लामिछानेले आफूले पनि अनावश्यक दबाब नदिने स्पष्ट पार्दै सबै कुरा कानुनी रूपमा गर्ने बताए। प्रहरीको सेवा, सुविधा, रासन र तलब स्केल सबैको पुनरावलोकन गर्ने प्रतिबद्धता पनि उनले व्यक्त गरे।

गृहमन्त्री लामिछानेसँग प्रहरी महानिरीक्षक धिरजप्रताप सिंहले प्रहरीमा सरुवाबढुवाका लागि बनाइएको मापदण्डको अक्षरशः पालना गर्ने प्रतिबद्धता जनाए।

प्रकाशित मिति: १३:२६ बजे, शुक्रबार, पुस १५, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्