Kathmandu Press

पनौतीको ६१ प्रतिशत माटोमा अम्लीयपन

प्रदेश राजधानी हेटाैंडास्थित माटो तथा मल परीक्षण प्रयोगशाला तथा पनौती नगर कृषि तथा पशुपक्षी शाखाको संयुक्त आयोजनामा माटो परीक्षण गरिएको थियो। 
पनौतीको ६१ प्रतिशत माटोमा अम्लीयपन

पनौती, पुस १५ : काभ्रेपलाञ्चोकको पनौती नगरपालिकाको माटोमा ६१ प्रतिशत माटोमा अम्लीयपन भएको पाइएको छ। नगर क्षेत्रका चार सय ६१ कृषकको खेतबारीमा चार दिन लगाएर गरिएको माटो परीक्षणमा माटोमा अम्लीयपन देखिएको हो। 

प्रदेश राजधानी हेटाैंडास्थित माटो तथा मल परीक्षण प्रयोगशाला तथा पनौती नगर कृषि तथा पशुपक्षी शाखाको संयुक्त आयोजनामा माटो परीक्षण गरिएको थियो। 

प्रयोगशालाका विज्ञ डा जनार्दन खड्काले पनौतीको माटोमा अत्यधिक अम्लीयपना देखिएकाले यसलाई समस्याग्रस्त माटोका रुपमा लिइएको बताए। 'युरियालगायतका रासायनिक मल कम गरी कम्पोष्ट मलको अधिकतम प्रयोग गर्नु राम्रो हुन्छ', खड्काले भने। 

पनौतीको माटोको अम्लीयपना कम गर्न प्रयोशालामार्फत् २१ मेट्रिक टन कृषि चुन उपलब्ध गराइने खड्काले बताए। साथै प्रयोगशालाले समस्याग्रस्त माटो सुधार गर्न ‘भकारो सुधार’ कार्यक्रम सञ्चालन गरिने योजना बनाएको छ। खड्काले पनौतीका कृषकले आफ्नो खेतबारीमा प्राङ्गारिक पदार्थ पूर्ति हुने प्रकारका जैविक मल प्रयोग गर्नुपर्ने आवश्यकता औँल्याएका छन्। 

'रासायनिक मल र विषादी प्रयोगले माटो बिग्रिएको हो, यिनको प्रयोग कम गर्दै जाने हो भने माटोको अम्लीयपना घट्दै जान्छ', पनौती नपा–२ का अगुवा कृषक लक्ष्मण हुमागाईंले भने। रासायनिक मल र विषादी प्रयोग कम गर्दै जैविक मल तथा कृषि चुन प्रयोगपश्चात् माटोमा रहेको अम्लीयपना न्यूनीकरण हुँदै उत्पादकत्व शक्ति बढ्दै जाने अपेक्षा गरिएको छ। 

बाग्मती प्रदेशअन्तर्गत काठमाडौँको दक्षिणकाली नगर, काभ्रेपलाञ्चोकको पनौती, चितवनको खैरेनी नगर, भक्तपुरको चाँगुनारायण नगर र ललितपुरको महाङ्काल गाउँपालिकामा भकारो सुधार कार्यक्रम सञ्चालन गरिने भएको छ। खड्काका अनुसार छनोट भएका पाँच स्थानीय तहका जैविक मल प्रयोग गर्ने ५० कृषकका लागि रु १५ हजार अनुदानसमेत दिइनेछ।

प्रकाशित मिति: १३:०७ बजे, शुक्रबार, पुस १५, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्