साताभरि नै आंशिकदेखि सामान्य बदली
हिमाली भू–भागमा साताको सुरूमा सामान्यदेखि पूर्ण बदली तथा पहाडी भू–भागमा साताको सुरू र मध्यमा आंशिकदेखि सामान्य बदलीको सम्भावना रहेको बताइएको छ।
काठमाडौं, पुस १५ : आगामी साताभरि नै देशको अधिकांश स्थानमा आंशिकदेखि सामान्य बदली हुने भएको छ।
जल तथा मौसम विज्ञान विभागको साप्ताहिक मौसम पूर्वानुमान महाशाखाका अनुसार देशको धेरै स्थानमा साताभरि नै बदली हुने छ।
हिमाली भू–भागमा साताको सुरूमा सामान्यदेखि पूर्ण बदली तथा पहाडी भू–भागमा साताको सुरू र मध्यमा आंशिकदेखि सामान्य बदलीको सम्भावना रहेको बताइएको छ।
त्यस्तै हिमाली भू–भागमा साताको सुरू र मध्यमा केही स्थानमा हल्का वर्षा÷हिमपातको समेत सम्भावना रहेको छ। प्रदेश १ को पहाडी भू–भागमा साताको सुरुआतमा छिटपुट वर्षाको सम्भावना छ।
देशभर अधिकतम तथा न्यूनतम तापक्रम हल्का घट्ने तथा तराई भू–भागमा साताका अधिकांश दिनमा बिहान र राति हुस्सु–कुहिरो लाग्ने सम्भावना छ। हाल देशका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही तराईका केही भू–भागमा हुस्सु–कुहिरो लागेको छ भने बाँकी भू–भागमा मौसम सामान्यतया सफा छ।
महाशाखाको पछिल्लो विवरणानुसार आज काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम चार दशमलव शून्य डिग्री र अधिकमत तापक्रम १६ दशमलव दुई डिग्री सेल्सियस छ।
आज सबैभन्दा कम जिरीको न्यूनतम तापक्रम माइनस दुई दशमलव एक डिग्री सेल्सियस र सबैभन्दा बढी विराटनगरको अधिकतम तापक्रम १९ दशमलव चार डिग्री सेल्सियस छ।











