वरीयताक्रममा असन्तुष्टि जनाउँदै उपप्रधानमन्त्री नारनयणकाजी श्रेष्ठ मन्त्रालयमा अनुपस्थित

काठमाडाैं, पुस १४ : उपप्रधानमन्त्री नारायणकाजी श्रेष्ठ भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय पुगेर पदभार ग्रहण गरेपछि मन्त्रालय गएका छैनन। साेमबार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँगै शपथ खाएर पदभार ग्रहण गरेका श्रेष्ठ सुरुको दुई दिन सञ्चो नभएको भनेर मन्त्रालय गएनन भने, उनी बिहीबार पनि गएनन् ।
श्रेष्ठ मन्त्रालय नजानुको कारण वरीयताक्रममा असन्तुष्टि रहेकाे माओवादी केन्द्रका नेताहरु बताउँछन् । उपप्रधानमन्त्रीहरुमा आफ्नो पहिलो वरीयता हुनुपर्ने श्रेष्ठको दाबी छ ।
हाल मन्त्रिपरिषदको वरियतामा प्रधानमन्त्रीपछिको वरीयतामा उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णु पौडेल रहेका छन् ।
अहिले प्रचण्ड सरकारका तीन उपप्रधानमन्त्रीमध्ये पौडेललाई पहिलो वरीयतामा राखिएपछि श्रेष्ठ असन्तुष्ट रहेको माओवादी केन्द्र स्रोत बताउँछ ।
स्रोतका अनुसार श्रेष्ठले वरीयतामा असन्तुष्टि जनाउँदै सोमबार शपथ लिन नै आनाकानी गरेका थिए । श्रेष्ठको असन्तुष्टि प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष केपी शर्मा ओलीसम्म पुगेको छ ।











