Kathmandu Press

झ्याप्प–झ्याप्प बत्ती निभ्ने समस्याको हल खोज्दै कुलमान 

काठमाडौं : विद्युतभार कटौतीको अन्त्य भएको लामो समय भए पनि राजधानीमा पछिल्ला दिनमा अनियमित तरिकाले विद्युत काटिएको छ । यो विषय नेपाल विद्युत प्राधिकरणका लागि चुनौत....

झ्याप्प–झ्याप्प बत्ती निभ्ने समस्याको हल खोज्दै कुलमान 
फाइल फोटो

काठमाडौं : विद्युतभार कटौतीको अन्त्य भएको लामो समय भए पनि राजधानीमा पछिल्ला दिनमा अनियमित तरिकाले विद्युत काटिएको छ । यो विषय नेपाल विद्युत प्राधिकरणका लागि चुनौती मात्रै नभई टाउको दुखाइको विषय समेत बनेको छ । वद्युतभार कटौतीको अन्त्यपछि पनि किन यस्तो अवस्था उत्पन्न भयो होला भनेर सर्वसाधारणले चासो व्यक्त गरिरहेका छन् ।

माग र आपूर्तिबीच सन्तुलन मिलाएर विद्युत वितरण गरिरहेको नेपाल विद्युत प्राधिकरणलाई पनि अनियमित तरिकाले विद्युत काटिँदा जनमानसले के ठान्लान् भन्ने लागेकै छ । 
 
जाडोको समयमा विद्युत प्रयोग पनि बढेको छ । माग बढ्दा केही स्थानमा स्वभाविकरूपमा ‘लोड’ बढेको र ‘लोड’ व्यवस्थापनमा केही समस्या आउँदा विद्युत काटिने गरेको निष्कर्षमा प्राधिकरण पुगेको छ । सोही समस्या समाधानका लागि प्राधिकरणले काठमाडौंका प्रमुख सबस्टेशन र वितरण केन्द्रहरुमा प्राविधिक जनशक्ति परिचालन गरेको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनको निर्देशनमा कार्यकारी निर्देशकसहितको प्राविधिक टोली परिचालित भएको हो ।

मन्त्री पुन प्राधिकरण सञ्चालक समितिको अध्यक्षसमेत हुन् । झ्याप्प झ्याप्प बत्ती काटिएको भन्ने गुनासोपछि प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ आफैं कार्यस्थलमा खटिई समस्या समाधानका लागि पहल थालेका छन् । उनले शनिबार काठमाडौंको बानेश्वर, टेकु, बालाजु, भक्तपुर, मुलपानी लगायतका सबस्टेशनको स्थलगत निरीक्षण गरी समस्या समाधानका लागि पहल गरेका थिए । 

 कार्यकारी निर्देशक घिसिङले बढी विद्युत माग भएको क्षेत्रमा ट्रान्सफर्मर फेर्न तथा विद्युत वितरण प्रणालीमा समस्या देखिए त्यसलाई तत्काल समाधान गर्न निर्देशन दिएका छन् । काठमाडौं ग्रीडका प्रमुख विनोद लोहनीले समस्या देखिएका केही सबस्टेशनको स्थलगत निरीक्षण गरिएको र झ्याप्प–झयाप्प बत्ती जाने समस्या समाधानका लागि पहल गरिएको जानकारी दिए । 
 
उनका अनुसार कार्यकारी निर्देशक घिसिङले समस्याको उचित पहिचान गर्न, समाधानका लागि कुनै कसर बाँकी नराख्न, जनशक्ति नपुगेको भए माग गर्न तथा वितरण प्रणालीमा समस्या देखिएको भए त्यसलाई तत्काल समाधान गर्नसमेत निर्देशन दिएका छन् । “विशेषगरी जाडो बढ्दै जाँदा विद्युत माग ह्वात्तै बढेका कारण पनि केही स्थानमा समस्या आएको छ”, लोहनीले भने ।

हामीले समस्या समाधानका लागि पहल गरेका छौं । कार्यकारी निर्देशक पनि आफैं कार्यस्थलमा पुगेर समस्या निरुपणका लागि पहल गर्नुभएको छ ।” पछिल्ला दिनमा बानेश्वर, टेकु, बालाजु र पाटनमा केही समस्या देखिएको प्राधिकरणले जनाएको छ । प्राधिकरणले विद्युत खपतका लागि आग्रह गरेलगत्तै विद्युत माग बढेको छ । कार्यकारी निर्देशक घिसिङले माग व्यवस्थापनका लागि प्रयत्न गर्न र समस्याको उचित निरुपणका लागि सम्बन्धित सबस्टेशन तथा ग्रीडका प्रमुखलाई निर्देशन समेत दिएका छन् । 

प्रमुख लोहनीका अनुसार समस्या समाधानका लागि काठमाडौं, भक्तपुर, ललितपुर र काभ्रेपलान्चोकको वितरण केन्द्र तथा ग्रीडलाई समेत एकीकृत कार्ययोजनाका साथ काम गर्न कार्यकारी निर्देशक घिसिङले निर्देशन दिएका छन् । 
 
काठमाडौंको माग ४०० मेगावाट 
 
जाडोको समयमा काठमाडौं उपत्यकामा विद्युत माग बढेर ४०० मेगावाट पुगेको छ । गत वर्ष ३०० मेगावाट हाराहारीमा रहेको विद्युत माग यसपटक १०० मेगावाटले बढेको हो । माग बढेका कारण लोड व्यवस्थापनमा समेत चुनौती थपिएको छ । माग बढ्नुलाई प्राधिकरणले पनि सकारात्मक रुपमा लिएको छ । चालु आर्थिक वर्षको अन्त्यसम्म प्राधिकरणको प्रणालीमा थप १ हजार मेगावाट विद्युत थप हुने भएकाले माग बढाउन प्राधिकरणले यसअघि नै आग्रह गरिसकेको छ ।

चालु आवको अन्त्यसम्म ४५६ मेगावाट क्षमताको माथिल्लो तामाकोशी लगायतका आयोजनाले विद्युत उत्पादन सुरु गर्नेछ । जाडो समयमा विद्युत खपत बढेको छ । यसलाई व्यवस्थापन गर्दै जाने योजनामा रहेको प्राधिकरणको केन्द्रीय भारप्रेषण केन्द्रले बताएको छ । काठमाडौं उपत्यकामा बस्ती विस्तार भएको र उद्योग कल कारखानासमेत नियमित चलेकाले पनि माग बढेको निष्कर्षमा प्राधिकरण पुगेको छ । 

प्राधिकरणको प्रणालीमा हाल आफ्नै विद्युतगृहबाट ७ हजार ३२४ मेगावाट विद्युत उपलब्ध भइरहेको छ । यस्तै, निजी क्षेत्रका आयोजनाबाट ६ हजार ९६४ मेगावाट भारतबाट ८ हजार ६३५ मेगावाट विद्युत आपूर्ति भइरहेको छ ।  - रासस
 

प्रकाशित मिति: १७:२० बजे, आइतबार, पुस १३, २०७६