Kathmandu Press

तीन वर्षपछि नेकपा एक्लैले दुईतिहाई बहुमत ल्याउँछ : प्रचण्ड

भरतपुर, पुस १३ : नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सरकार र पार्टीको कामले तीन वर्षपछि आउने निर्वाचनमा नेकपा एक्लै दुईतिहाई बहुमत....

तीन वर्षपछि नेकपा एक्लैले दुईतिहाई बहुमत ल्याउँछ : प्रचण्ड
फाइल फोटो

भरतपुर, पुस १३ : नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सरकार र पार्टीको कामले तीन वर्षपछि आउने निर्वाचनमा नेकपा एक्लै दुईतिहाई बहुमत ल्याउने दाबी गरेका छन् । 

चितवनको इच्छाकामना गाउँपालिकामा नेकपाको सपथ ग्रहण कार्यक्रममा उनले भने, ‘अब ३ वर्ष पार्टीको काम र सरकारको कामले आउने निर्वाचनमा एक्लैले दुई तिहाइ बहुमतको सुनिश्चितता गर्नुछ । त्यो प्रतिवद्धता हामीले व्यक्त गरेका छौं ।’

प्रचण्डले जनतासँग नङमासुको सम्बन्ध बनाएर जनसेवा गर्न पनि कार्यकर्तालाई निर्देशन दिए । उनले भने, ‘पार्टी अझै एकताबद्ध भएर विचारमा स्पष्ट र संगठित भएर जनताको सेवामा समर्पित हुन जरुरी छ ।’

मंसिर १४ गतेको उपनिर्वाचनबाट केही शिक्षा र केही उत्साह प्राप्त भएको प्रचण्डले बताए । ‘हार्ने कल्पना नगरेको ठाउँ पनि हारियो, जसबाट गम्भीर शिक्षा लिनुपर्ने आवश्यकता छ’ उनले भने  । 

प्रचण्डले चुनावमा हार्नुका कारणबारे भने, ‘यसको मुख्य कारण पार्टी र जनताबीचको सम्बन्ध जति सजीव, जति गतिशील र जीवन्त हुनुपथ्र्यो त्यसको कमीका कारण ‘कन्फ्यजन’ भयो भन्ने निष्कर्ष निकालेका छौँ ।’ पार्टी संस्थागत भएपछि र अभियान सञ्चालन गर्न थालेपछि उत्साहपूर्ण वातावरण फर्काउन सकिने उनले बताए ।

प्रचण्डले कालापानीसम्बन्धी विवाद नेपाली भूमिबाट विदेशी सेना हटाउने अवसर पनि हुन सक्ने बताए । नेकपा नेतृत्वको सरकारको अघिल्लो दुई वर्ष कानून बनाउँदा र छिमेकीसँगको सम्बन्ध सुदृढ बनाउँदा बितेको भन्दै अब जनसेवाको काम गर्ने पनि उनले बताए ।

‘विकास र समृद्धिको हिसाबले पनि अभियान सुरु त भएको छ । तर जनताले जुन गतिमा खोजेको छ, अझै त्यो उत्साह आइसकेको छैन’ उनले भने ‘गएको वर्ष कानुन बनाउने कुरामा ध्यान गयो, छिमेकीसँग सम्बन्ध सुदृढ बनाउने कुरामा पनि ध्यान गयो । धेरै छिमेकीका नेताहरुको भ्रमण भयो ।’

चीनका राष्ट्रपतिको नेपाल भ्रमण र ऐतिहासिक भएको र भारतबाट पेट्रोलियम पाइपलाइन उद्घाटन हुने ठूलो कुरा भएको भन्दै उनले पूर्वपश्चिम र उत्तर दक्षिण रेल मार्ग निर्माण पनि अघि बढेको बताए ।

प्रकाशित मिति: १६:२६ बजे, आइतबार, पुस १३, २०७६