गृहमन्त्री लामिछानेको अर्को निर्णय : सुरक्षा निकायका पदाधिकारीलाई कुटनैतिक नियोग र दलका नेतासँग भेट्न रोक
भेटवार्ता गर्नुपर्ने भए स्पष्ट प्रयोजन साथ विभागीय स्वीकृति लिनुपर्ने
काठमाडौं, पुस १४ : गृह मन्त्रालयले सुरक्षा निकायका पदाधिकारीलाई आफूखुशी कुटनैतिक नियोग, राजनीतिक दलका नेतृत्वसँग भेट्न रोक लगाउने निर्णय गरेको छ ।
बिहीबार गृह मन्त्रालयका सहसचिव फणिन्द्रमणि पोखरेलले विज्ञप्ति जारी गर्दै जिम्मेवारी पालनाको सिलसिलाबाहेक सुरक्षा निकायका पदाधिकारीहरुलाई कुटनैतिक नियोग र दलका नेतृत्वसँग भेट गर्न नपाउने निर्णय भएको जानकारी दिएका हुन् ।
भेटवार्ता गर्नुपर्ने भए स्पष्ट प्रयोजन साथ विभागीय स्वीकृति लिनुपर्ने गृहले जनाएको छ । सुरक्षा निकायका कतिपय पदाधिकारीहरुले कर्तव्य पालनको सिलसिला बाहेक पनि विभिन्न कुटनैतिक नियोग, राजनैतिक नेतृत्वसँग भेटघाट गर्ने गरेको पाइएकाले यस्तो निर्णय गरिएको गृहले जानकारी दिएको छ ।
गृह मन्त्रालयले निर्णयको प्रभावकारी कार्यान्वयन तथा अनुगमन सम्बन्धित संगठन प्रमुखले मिलाउन पनि अनुरोध गरेको छ । निर्देशन विपरित कार्य गरेको÷गराइएको पाइएमा प्रचलित काूनन बमोजिम अनुशासन सम्बन्धी कारबाही गरिने चेतावनी समेत दिइएको छ।












