ग्राउन्डेड जहाजको पार्किङमा मात्रै वार्षिक चार कराेड खर्च
काठमाडौं, पुस १३ : नेपाल वायुसेवा निगमले बिग्रिएका जहाजको मर्मतसम्भार नगर्दा पार्किङ शुल्क मात्रै चार करोडभन्दा बढि तिर्दै आएको छ।
निगमको आर....
काठमाडौं, पुस १३ : नेपाल वायुसेवा निगमले बिग्रिएका जहाजको मर्मतसम्भार नगर्दा पार्किङ शुल्क मात्रै चार करोडभन्दा बढि तिर्दै आएको छ।
निगमको आर्थिक भार बढिरहेको वेला बिग्रिएका जहाज मर्मत नगर्दा पार्किङ र इन्स्युरेन्समै कराेडाैं खर्च तिर्नु परिरहेकाे छ। निगमको आन्तरिक उडान भर्ने ट्विनअटर विमान सात वर्षदेखि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ग्राउन्डेड छ। उक्त विमानको पार्किङ शुल्क मात्रै ६९ लाख रुपैयाँ पुगेको छ भने इन्स्युरेन्स बापतको खर्च पनि त्यही अनुपानमा छ।
याे विमान मर्मतसम्भार गर्ने हो वा बिक्रि गर्ने हो भन्ने निगम व्यवस्थापनको ठोस योजना छैन। जसले गर्दा वार्षिक कराेडौं रुपैयाँ अनावश्यक खर्च भइरहेकाे निगम अधिकारी बताउँछन्।
लामो समयदेखि ग्राउन्डेड उक्त विमानका पार्टपूर्जा अरु विमानमा राख्दा विमान हाल खोक्रो अवस्थामा रहेको विमानस्थलका कर्मचारीले बताए।
त्यस्तै निगमको अन्तर्राष्ट्रिय उडान गरेको बोईङ ७५७ गण्डकी नामको विमान पनि २० महिनादेखि ग्राउन्डेड छ। २० महिनाको अवधिमा बोईङको ग्राउन्डेडबापत विमानस्थल कार्यालयलाई पार्किङ शुल्क मात्रै दुई करोड ४८ लाख २० हजार रुपैयाँ बुझाएको छ।
याे विमान गत शुक्रबार मात्रै बिक्रि भएको छ। बिक्रि भएर विमानस्थल कार्यालयवाट नहट्दासम्म पार्किङ शुल्क निगमले नै भुक्तानी गर्नुपर्ने हुन्छ।
आन्तरिक उडान गर्दै आएको चिनियाँ अनुदानको वाई–१२ ई नामक विमान पनि २० महिनादेखि विमानस्थल कार्यालयमा ग्राउन्डेड छ। याे विमानको निगमले २० महिनाको अवधिमा ४९ लाख १५ हजारभन्दा बढि शुल्क पार्किङका लागि मात्रै भुक्तानी गरेको छ।
त्यस्तै चिनियाँ अनुदानकै अर्काे विमान एमए–६० को पनि २० महिनाको अवधिमा ६० लाखभन्दा बढि रकम विमानस्थल कार्यालयलाई बुझाएको छ।
निगमका जहाज विमानस्थलमा लामबद्ध देखेपछि गत असारमा निगमको ६१औं वार्षिकोत्सवको अवसरमा प्रधानमन्त्री केपी शर्मा ओलीले ‘आकाशमा हुनुपर्ने विमानले एयरपोर्ट मात्रै ओगट्ने गरेको’ भन्दै असन्तुष्टी व्यक्त गरेका थिए।
उनले निगम व्यवस्थापन समितिलाई विमान नउडाउने भए किन ल्याएको भन्दै विमान थप गर्ने कुरा इन्कार गर्दै विमानको राम्रोसँग उडान गर्न निर्देशन दिएका थिए। तर निगम व्यवस्थापनले त्यस विषयमा कुनै योजना अझैसम्म ल्याएको छैन।
टि्वनअटर विमान
सन् २०१२ को अगस्ट २१ तारिखदेखि विमानस्थल कार्यालयमा निगमको ट्विनअटर जहाज ग्राउन्डेड रहेको छ। करिब सात वर्षदेखि विमानस्थलको पार्किङ वे मा थन्किएको ट्विनअटरको पार्किङ शुल्क दैनिक २४ डलर (दुई हजार सात सय ३१ रुपैयाँ) तिर्नुपर्छ।
यसरी हिसाब गर्दा मासिक करिब ८१ हजार नाै सय ३० रुपैयाँ हुन्छ। सात वर्षदेखि पार्किङ शुल्क मात्रै ६८ लाख ८२ हजारभन्दा बढि हुन्छ।
चिनिया एमए ६०
२०६९ मा नेपाल सरकार र चीन सरकारबीच भएको सम्झौताअनुसार, निगमले ६ वटामध्ये दुई वाई १२ ई र एउटा एमए ६० विमान चिनियाँ अनुदानमा प्राप्त गरेको थियो। अनुदानबाहेक दुई वाई १२ ई र एउटा एमए ६० विमान एक्जिम बैंकको सहुलियत ऋणमा खरिद गरेएको थियो।
सन् २०१८ को अप्रिल १५ तारिखदेखि ग्राउन्डेड भएको चिनियाँ कम्पनीको एम ए–६० जहाजको दैनिक पार्किङ शुल्क ८८ डलर (दश हजार १५ रुपैयाँ) हुन्छ। यसरि मासिक तीन लाखभन्दा बढि रकम हुन्छ। करिब २० महिनादेखि ग्राउन्डेड विमानको पार्किङ शुल्कमात्रै ६० लाख १० हजारभन्दा बढि भुक्तानी गरिसकेको छ।
वाई–१२
चिनियाँ अनुदानको वाई–१२ ई जहाज सन् २०१८ को अप्रिल २९ गतेदेखि ग्राउन्डेड छन्। तीनवटा वाई–१२ ई विमानको पार्किङ शुल्कबापत दैनिक २४ डलर भुक्तानी गर्नुपर्छ। जसमा आजको दररेट अनुसार एउटा विमानको दैनिक दुई हजार सात सय ३१ रुपैयाँ बुझाउनु पर्छ।
२० महिनाको शुल्क बापत एकवटा विमानको मात्रै १६ लाख ३८ हजारका दरले तीन विमानको ४९ लाख १५ हजारभन्दा बढि शुल्क बुझाउदै आएको छ।
बोईङ ७५७
अन्तर्राष्ट्रिय उडान गर्दे आएको बोईङ–७५७ सन् २०१८ को कात्तिकदेखि ग्राउन्डेड छ। एक सय ९० सिट क्षमताको बोईङको पार्किङ शुल्क दैनिक ५५९.२० अमेरिकी डलर (६३ हजार ६ सय ४२ रुपैयाँ) तिर्छ। यो मासिक करिब १९ लाख नाै हजार हुन्छ।
कात्तिक यता १३ महिनामा यसले दुई करोड ४८ लाख २० हजारभन्दा बढि रुपैयाँ तिरिसकेको छ।
गत वर्षको मंसिरमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले निगम सञ्चालन समितिलाई विमान बिक्रीका लागि पहल गर्न अनुमति दिएको थियो। मन्त्रालयले अनुमति पछि बोईङ विक्रिका लागि निगमले दुई पटक ग्लोबल टेन्डर आह्वान र हाल बोल कबोलमार्फत विक्रिको तयारी गरेको छ।
बोल कबोलमा आवेदन परेकामध्ये सबैभन्दा धेरै रकम दिने कम्पनीलाई बोइङ विक्रिका लागि शुक्रबार मात्रै निर्णय भएको छ।
वाई–१२ का सबै जहाज ग्राउन्डेड
आन्तरिक उडान गर्दै आएको चिनियाँ वाई–१२ ई का चार वटै विमान ग्राउन्डेड भएका छन्। निगमका प्रवक्ता गणेशबहादुर चन्दका अनुसार दुई दिनदेखि मर्मतका लागि वाई–१२ ई विमान ग्राउन्डेड गरिएको छ। चारमध्ये एउटा मात्रै सञ्चालनमा थियो, त्याे पनि नियमित मर्मतका लागि ग्राउन्डेड गरिएको छ।
उनका अनुसार हाल आन्तरिकतर्फ दुई वटा टि्वनअटर र एउटा एमए–६० विमान सञ्चालनमा छन्।
सात वर्षदेखि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयको पार्किङ-वेमा निगमका विमान थन्किएका छन्। विमानस्थलको पार्किङ वे ओगटेर बस्नेमध्येमा निगमको एउटा बोईङ, एउटा ट्विनअटर, चिनियाँ अनुदानको तीन वटा वाई–१२ ई र दुई वटा एमए–६० छन्।
सिमित पार्किङ वे रहेको विमानस्थलमा निगमका जहाजले सधै स्थान ओगट्दा अन्य विमानले पार्किङ पाउन समस्या भएको विमानस्थल कार्यालयले जनाएको छ। विमानस्थल कार्यालयका महानिर्देशक देवेन्द्र केसीका अनुसार निगमकै जहाजले पार्किङ वे भरिएको हुन्छ, अन्य विमानलाई पार्किङको स्थान दिनै समस्या हुन्छ।
नागरिक उडड्यन प्राधिकरणको नियमावलीमा सम्बन्धित वायुसेवालाई बिल पठाएको ३० दिनभित्र विमानस्थल पार्किङ शुल्क तिर्नुपर्ने व्यवस्था छ। शुल्क तिर्न बिलम्ब गर्ने वायुसेवाको हकमा ४५ दिनसम्म पाँच प्रतिशत, ६० दिनसम्म १५ प्रतिशत र ९० दिनभन्दा ढिलो गर्ने कम्पनीबाट ३० प्रतिशत जरिबाना लाग्छ।












-(7)-1765197040.jpg)