Kathmandu Press

महान्यायाधिवक्ता डा. पोखरेलद्वारा पद तथा गोपनियताको शपथ ग्रहण

राष्ट्रपति कार्यालय शीतल निवासमा आज आयोजित समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को समुपस्थितिमा कामु प्रधानन्यायाधीश हरिकृष्ण कार्कीले डा. पोखरेललाई शपथ गराएका हुन्।
महान्यायाधिवक्ता डा. पोखरेलद्वारा पद तथा गोपनियताको शपथ ग्रहण

काठमाडाैं, पुस १४ : नवनियुक्त महान्यायाधिवक्ता डा. दिनमणि पोखरेलले पद तथा गोपनीयताको शपथग्रहण गरेका छन्। 

राष्ट्रपति कार्यालय शीतल निवासमा आज आयोजित समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को समुपस्थितिमा कामु प्रधानन्यायाधीश हरिकृष्ण कार्कीले डा. पोखरेललाई शपथ गराएका हुन्। प्रधानमन्त्री प्रचण्डको सिफारिसमा राष्ट्रपति भण्डारीले डा पोखरेललाई बुधबार महान्यायाधिवक्तामा नियुक्त गरेका थिए।

महान्यायाधिवक्ता डा पोखरेलको जन्म २०३० चैत २९ गते झिमरुक गाउँपालिका–४ प्यूठानमा भएको थियो। उनले २५ वर्षदेखि निरन्तर कानुन व्यवसायमा संलग्न हुनुहुन्छ। उहाँले सन् २०१६ मा त्रिभुवन विश्वविद्यालयबाट कानुनमा विद्यावारिधि गरकेा छन्। 

महान्यायाधिवक्ताले सन् १९९९ मा दिल्ली विश्वविद्यालयबाट तुलनात्मक कानुनमा स्नातकोत्तर र द हेग नेदरल्याण्ड्सबाट २००७ मा सामाजिक अध्ययन संस्थानबाट अन्तर्राष्ट्रिय राजनीतिक अर्थशास्त्र र विकासमा स्नातकोत्तर गरेका छन्। उनले वातावरणीय कानुनमा स्नातक गरकेा छन्।

कानुनी अभ्यास र परामर्शका अतिरिक्त डा पोखरेलले कानुनी अनुसन्धान, कानुनी मस्यौदा र तालिममा संलग्न छन्। उनले संविधानसभाको प्राकृतिक स्रोत, आर्थिक अधिकार र राजस्व बाँडफाँट समितिमा कानुनविद्का रूपमा काम गरेका थिए। 

डा. पोखरेलले व्यवस्थापिका–संसद्को पूर्वसभामुख ओनसरी घर्तीको कानुनी सल्लाहकारको रुपमा काम गरेका थिए। उनले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संस्थामा कानुनी परामर्श सेवा प्रदान गर्दै आएका छन्। 

राष्ट्रिय र अन्तर्राष्ट्रिय जर्नलहरूमा कानुनको फरक क्षेत्रमा लेखहरू प्रकाशित गर्दै आएका पोखरेल जलस्रोत, वातावरण, जलविद्युत्, वाणिज्य कानुन, राजनीतिक अर्थव्यवस्था तथा विकासका केन्द्रित रही काम गरेका छन्।

प्रकाशित मिति: १२:५९ बजे, बिहीबार, पुस १४, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्