५३२ किमी वितरण सञ्जालमा मेलम्चीको पानीको सफल परीक्षण
बाँकी क्षेत्रमा पानी परीक्षणको तयारी भइरहेको निर्देशनालयका प्रवक्ता चन्द्रकुमार पाँ श्रेष्ठले राससलाई जानकारी दिए।
काठमाडाैं, पुस १४ : मेलम्चीको पानी वितरण गर्न काठमाडौं उपत्यका खानेपानी लिमिटेड आयोजना कार्यान्वयन निर्देशनालयले निर्माण गरेको एक हजार १० किमी वितरण सञ्जालमध्ये पाँच सय ३२ किमीमा पानी परीक्षण सम्पन्न भएको छ।
बाँकी क्षेत्रमा पानी परीक्षणको तयारी भइरहेको निर्देशनालयका प्रवक्ता चन्द्रकुमार पाँ श्रेष्ठले राससलाई जानकारी दिए।
तेस्रो पटक मेलम्चीको पानी राजधानी आउनुअघि दैनिक २० देखि २५ किमी क्षेत्रमा पानी परीक्षण गर्ने गरिएको थियो। लिमिटेडको पुरानो स्रोतबाट वितरण भएको पानीले त्यसबेला पानी वितरण गर्ने गरिएको थियो।
मेलम्चीको पानी आउन थालेपछि गत मङ्सिर तेस्रो सातादेखि भने दैनिक ६० देखि एक सय किमीसम्म पानी परीक्षण गर्ने गरिएको उनले बताए।
परीक्षणका क्रममा नयाँबजार, बानेश्वर, लैनचौरलगायत क्षेत्रमा नेपाल विद्युत् प्राधिकरण र काठमाडौँ महानगरपालिकाले विद्युत्का तार भूमिगत, ढल व्यवस्थापनलगायत प्रयोजनका लागि खन्दा पाइप पनि काटिएको अवस्थामा भेटिएको निर्देशनालयले जनाएको छ।
मेलम्चीको पानी आउन थालेपछि नयाँ वितरण सञ्जाल परीक्षणका लागि पानी पठाउँदा पाइप काटिएको थाहा पाइएको हो। पाइप काटिएर पानी चुहावट भएको थाहा पाउने बित्तिकै मर्मत सम्भारका लागि समूह परिचालन गरिएको निर्देशनालयले जनाएको छ। निर्देशनालयले सक्दो छिटो काटिएको पाइप मर्मत गरी पानी वितरण गर्ने व्यवस्था मिलाएको छ।











