बालुवाटार बैठक : सत्ता साझेदार दलको संयोजकमा ओली, पाँच दिनभित्र न्युनतम साझा कार्यक्रम ल्याउने निर्णय
बिहीबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको गठबन्धन दलको बैठकले ओलीलाई संयोजक बनाउने निर्णय गरेको हो।
काठमाडौं, पुस १४ : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली सत्ता साझेदार दलको संयोजक तोकिएका छन् ।
बिहीबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको गठबन्धन दलको बैठकले ओलीलाई संयोजक बनाउने निर्णय गरेको हो।
बैठकबाट सरकारको न्यूनतम साझा कार्यक्रम ल्याउने निर्णय पनि गरेको छ । बैठकमा सहभागी एक नेताले सत्ता गठबन्धनले पाँच दिनभित्र सरकारको न्युनतम साझा कार्यक्रम ल्याउने निर्णय गरेको जानकारी दिए ।
त्यस्तै शक्ति बाँडफाँट र मन्त्रिपरिषद्लाई पूर्णता दिने विषयमा पनि छलफल भएको बताइएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ प्रतिनिधि सभाबाट विश्वासको मत प्राप्त गरेपछि मात्रै मन्त्रिपरिषद् विस्तार गर्ने पक्षमा छन् ।
प्रधानमन्त्री प्रचण्डलाई एमाले, रास्वपा, जसपा, राप्रपा, जनमत पार्टी र नागरिक उन्मुक्ति पार्टीको समर्थन छ । उनले एकीकृत समाजवादीलाई पनि सरकारमा ल्याउने प्रयास गरिरहेका छन् ।
आजको बैठकमा प्रधानमन्त्री प्रचण्ड, एमाले अध्यक्ष ओली, रास्वपा अध्यक्ष लामिछाने र राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन सहभागी थिए। राप्रपाले न्यूनतम साझा कार्यक्रम ल्याउनुपर्ने र आफूहरूका सर्त सम्बोधन गर्ने प्रतिबद्धता आउनुपर्ने बताइरहेको छ।











