राप्रपाको केन्द्रीय कार्यसमिति बैठक जारी, सरकारमा जाने तयारी
बुधबार जारी केन्द्रीय कार्यसमितिको बैठकमा अधिकांश नेताहरुले पार्टी सरकारमा सहभागी हुनुपर्ने आवाज उठाएसँगै पार्टी सरकारमा जाने विषयमा सकारात्मक बनेको एक नेताले जानकारी दिएका छन् ।
काठमाडौं, पुस १३ : राष्ट्रिय प्रजातन्त्र पार्टी सरकारमा जाने भएको छ ।
बुधबार जारी केन्द्रीय कार्यसमितिको बैठकमा अधिकांश नेताहरुले पार्टी सरकारमा सहभागी हुनुपर्ने आवाज उठाएसँगै पार्टी सरकारमा जाने विषयमा सकारात्मक बनेको एक नेताले जानकारी दिएका छन् ।
राप्रपाका केन्द्रीय प्रवक्ता मोहन श्रेष्ठले भने बैठक जारी रहेको र सरकारमा सहभागी हुनेबारे औपचारिक निर्णय भइनसकेको बताएका छन् ।
यसअघि राप्रपाले सरकारमा सहभागी हुनका लागि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसमक्ष चार सर्त राखेको थियो । राप्रपाले पृथ्वी नारायण शाहलाई राष्ट्रपिता घोषणा, राजसंस्थासहितको हिन्दु राष्ट्र कायम तथा संघीयता र धर्म निरपेक्षता खारेज गर्नुपर्ने सर्त राखेको थियो।
माओवादी केन्द्रले कांग्रेस नेतृत्वको गठबन्धन फुटाएर एमालेको समर्थनमा सरकार बनाएपछि राप्रपाले समर्थन जनाएको थियो । राप्रपाले राजनीतिक स्थिरताका लागि प्रचण्ड नेतृत्वको सरकारलाई समर्थन गरेको बताउँदै आएको छ । त्यतिबेला राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले सरकारलाई समर्थन गर्ने तर सरकारमा नजाने बताएका थिए ।











