रसुवाकाे केरुङ नाकाबाट नेपाली सामान चीनतर्फ निकासी सुरु
काठमाडौंस्थित चिनियाँ दूतावासले बुधबारको कार्यक्रमको तस्बिर सामाजिक सञ्जालमार्फत सार्वजनिक गर्दै चीन थप नेपाली सामानको प्रतीक्षामा रहेको बताएको छ।
काठमाडौं, पुस १३ : कोरोना महामारीका कारण रोकिएका सामान चीनतर्फ निर्यात हुन थालेको छ। झन्डै तीन वर्षपछि रसुवागढीको केरुङ नाकाबाट नेपाली सामान मंगलबार चीन पठाइए औपचारिक सुरुवात भने बुधबारबाट निकासी सुरु भएको हो।
काठमाडौंस्थित चिनियाँ दूतावासले बुधबारको कार्यक्रमको तस्बिर सामाजिक सञ्जालमार्फत सार्वजनिक गर्दै चीन थप नेपाली सामानको प्रतीक्षामा रहेको बताएको छ। ‘केरुङ÷रसुवागढी नाकाबाट हुने दुईतर्फी व्यापार आजदेखि सुचारु भएको छ। नेपाली सामान भरिएका ६ कार्गो ट्रक बन्दरगाह हुँदै चीनतर्फ गएका छन्,’ दूतावासले फेसबुकमा लेखेको छ, ‘नेपालको थप सामान निर्यातको प्रतीक्षामा चीन !’
मंगलबार पहिलो दिन ५० लाख नेपाली रुपैयाँ बराबरका आठ कन्टेनर सामान निर्यात भएको रसुवा भन्सार कार्यालयले जनाएको छ। २०७६ माघ १५ यता उक्त नाकाबाट चीनतर्फ नेपाली सामान निकासी हुन सकेको थियन।
त्यसअघि नेपालबाट पस्मिना, गलैंचा, बाँसका मुढा, अम्रिसो, मैदा, वनस्पति घिउ, चाउचाउ, पास्ता, बिस्कुट, जुस, जाम, चिउरा, लप्सी क्यान्डी, चकलेट, सक्खर, चुइँगमलगायत वस्तु निर्यात चीनतर्फ निर्यात हुँदै आएको थियो । सिन्धुपाल्चोककाे तातोपानी नाकाबाट हुने निर्यात व्यापार भने भूकम्पयता हुन सकेको छैन।











