Kathmandu Press

नेकपा सचिवालय बैठकले पनि टुङ्गो लगाउन सकेन सभामुख

काठमाडौ, पुस १३  नेकपाको सचिवालय बैठकले पनि प्रतिनिधिसभा सभामुखको उम्मेदवार टुंगो लगाउन सकेन। जसले गर्दा नेकपा सचिवालय बैठक निष्कर्षविना टुङ्गिएक....

नेकपा सचिवालय बैठकले पनि टुङ्गो लगाउन सकेन सभामुख

काठमाडौ, पुस १३  नेकपाको सचिवालय बैठकले पनि प्रतिनिधिसभा सभामुखको उम्मेदवार टुंगो लगाउन सकेन। जसले गर्दा नेकपा सचिवालय बैठक निष्कर्षविना टुङ्गिएको छ।

आइतबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा नेकपा सचिवालय बैठक बसेको थियो। बैठकमा सभामुखको उम्मेदवार, अमेरिकी सहयोग एमसीसीलगायतका विषय एजेन्डा रहेका थिए।

तर, नेकपा सचिवालय बैठकमा सभामुखको उम्मेदवारबारे केहीबेर छलफल भएको जनाएको छ। त्यसमा केही टुङ्गो लाग्न सकेन।

समय अभावले गर्दा बैठकका एजेन्डामा विस्तृत छलफल हुन नपाएको नेकपा महासचिव विष्णु पौडेलले बताएका छन्। बैठकबारे जानकारी दिँदै महासचिव पौडेलले भने, ‘समय अभावले आजको बैठकमा विषयमा प्रवेश गर्न पाएनौं, अर्को बैठक चाँडै बस्छ।’

तीन महिनादेखि प्रतिनिधिसभाको सभामुख पद रिक्त रहेको छ। नयाँ सभामुख चयनका लागि संसद्को हिउँदे अधिवेशन पुस ४ देखि सुरू भएको छ। पुस ११ को बैडकमा सभामुख चयन प्रक्रिया सुरू गर्ने तयारी गरिएको थियो।

तर, नेकपाले सभामुख उम्मेदवार टुङ्गयाउन नसक्दा सूचना टाँसेर बैठक स्थगित भएको थियो। अर्को बैठक पुस १६ गते बोलाइएको छ।

तत्कालीन सभामुख कृष्णबहादुर महरालाई बलात्कारको आरोप लागेपछि असोज १३ गते राजीनामा दिएका थिए। उनी अहिले पुर्पक्षका लागि डिल्लीबजार करागारमा छन्।

नयाँ सभामुखका लागि राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री केपी शर्मा ओली र नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अलगअलग व्यक्तिमा रुचि देखाएपछि अलमल भएको छ। राष्ट्रपति भण्डारी उपसभामुख डा.शिवमाया तुम्बाहाङफेलाई नै सभामुख बनाउनु पर्ने पक्षमा छन भने प्रधानमन्त्री ओलीले पूर्वसभामुख सुवाष नेम्वाङ र प्रचण्डले अग्नि सापकोटालाई सभामुख बनाउन बल गरिरहेका छन्।

त्यस्तै, आजको नेकपा सचिवालय बैठकमा एमसीसीलाई पनि एजेन्डा बनाइएको थियो। त्यसबारे पनि छलफल हुन नसकेको जनाएको छ।

प्रकाशित मिति: ११:४२ बजे, आइतबार, पुस १३, २०७६