आरआरमा अनेरास्ववियुको दुई समूहबीच झडप, अध्यक्ष भण्डारी घाइते
झडपमा परी अनेरास्ववियु क्याम्पस कमिटीका अध्यक्ष मदन भण्डारी र उपाध्यक्ष लोकेश खड्का घाइते भएका छन् ।
काठमाडौं, पुस १३ : काठमाडौंको प्रदर्शनीमार्गस्थित रत्नराज्य क्याम्पसमा एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियुका कार्यकर्ताबीच झडप भएको छ ।
स्ववियु निर्वाचनको विषयलाई लिएर क्याम्पस कमिटीभित्र आरसी लामिछाने र समिक कुमार बराल पक्षका कार्यकर्ताबीच झडप भएको हो ।
मंगलबार लामिछाने पक्षका उपाध्यक्ष लोकेश खड्काको समूहले बराल समूहका एक विद्यार्थीमाथि कुटपीट गरेपछि बुधबार सो पक्ष प्रतिआक्रमणमा उत्रिएको अनेरास्ववियु क्याम्पस कमिटीकै एक सदस्यले जानकारी दिए ।
मंगलबार यसको सुरुवात भएको थियो, पिटाई खाएका समूहले बुधबार प्रतिआक्रमण गरेपछि झडप भएको हो,’ उनले भने । आजको झडपमा खुकुरी समेत प्रहार भएको र केही विद्यार्थी नेता कार्यकर्ता घाइते भएका छन् ।
झडपमा परी अनेरास्ववियु क्याम्पस कमिटीका अध्यक्ष मदन भण्डारी र उपाध्यक्ष लोकेश खड्का घाइते भएका छन् । अध्यक्ष भण्डारीमाथि झडप छुट्याउन जाने क्रममा खुकुरी प्रहार भएको बताइएको छ । उनको हातमा चोट लागेको छ ।

घाइतेहरुको काठमाडौं मोडल अस्पतालमा उपचार भइरहेको छ । आरआर क्याम्पस परिसरमा बाक्लो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ ।











