Kathmandu Press

एकीकृत समाजवादी र जसपालाई पनि सरकारमा समेट्न प्रधानमन्त्री प्रचण्डले थाले पहल

प्रधानमन्त्री प्रचण्डले एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल र जसपा अध्यक्ष उपेन्द्र यादवसँग भेटवार्ता गरेका छन् ।
एकीकृत समाजवादी र जसपालाई पनि सरकारमा समेट्न प्रधानमन्त्री प्रचण्डले थाले पहल

काठमाडौं, पुस १३ : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेकपा एकीकृत समाजवादी र  जनता समाजवादी पार्टीलाई सरकारमा ल्याउने पहल थालेका छन् । बुधबार दुई पार्टीका अध्यक्ष माधवकुमार नेपाल र उपेन्द्र यादवसँग भेटवार्ता गरी प्रधानमन्त्री प्रचण्डले उनीहरुलाई सरकारमा समेट्ने प्रयास गरेका हुन् । 

भेटमा सरकारमा सहभागी हुने प्रचण्डको प्रस्तावमा अध्यक्ष नेपाल र यादव केही सकारात्मक देखिएपनि अझै छलफल गर्नुपर्ने बताएका छन् । एकीकृत समाजवादीका अध्यक्ष नेपालले गठबन्धन तोडेर अर्कै गठबन्धन बनाउन लाग्ने निर्णयका बारेमा आफूसँग एकपटक पनि सल्लाह नगरेको बताउँदै आएका छन् । 

उनले सार्वजनिक कार्यक्रमहरुबाटै प्रचण्डले कम्तिमा आफूलाई एकपटक फोन पनि नगरी बालकोट पुगेर प्रधानमन्त्री बनेको भन्दै असन्तुष्टि पोखेका थिए । एकीकृत समाजवादीले यसअघिको गठबन्धनका दलहरु कांग्रेस र माओवादी केन्द्रले आफूहरुलाई धोका दिएको बताउँदै आएका छन् । 

प्रचण्ड पुस १० मा प्रधानमन्त्री नियुक्त भएका थिए । कांग्रेस नेतृत्वको गठबन्धन त्यागेर एमाले नेतृत्वको गठबन्धनबाट प्रचण्ड प्रधानमन्त्री बनेका हुन् । उनले अबको एक महिनाभित्र प्रतिनिधि सभाबाट विश्वासको मत लिनुपर्नेछ । त्यसका लागि कांग्रेसबाहेक सबै ठूलासाना दलहरुलाई सरकारमा सहभागी गराएर दुई तिहाई प्रधानमन्त्री बन्ने प्रयासमा छन् । 

हाल उनलाई एमालेसहित सात राजनीतिक दलले समर्थन गरेका छन् । प्रचण्डले आफ्नो नेतृत्वमा तीन उपप्रधानसहित ८ सदस्यीय मन्त्रिपरिषद् पनि गठन गरिसकेका छन् । बाँकी भएको मन्त्रालयको टुंगो गठबन्धन दलहरुबीचको छलफलबाट लगाइने छ । सोही कारण एकीकृत समाजवादी र जनता समाजवादीलाई पनि सरकारमा ल्याउने प्रयास गरेका हुन् । 

 

प्रकाशित मिति: १०:३२ बजे, बुधबार, पुस १३, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्