सभामुख टुंगो लगाउन नेकपा सचिवालय बैठक सुरू
काठमाडौं, पुस १३ : प्रतिनिधिसभा सभामुखको उम्मेदवार टुंगो लगाउन सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सचिवालय बैठक प्रधानमन्त्री निवास बालुवाटारमा....
काठमाडौं, पुस १३ : प्रतिनिधिसभा सभामुखको उम्मेदवार टुंगो लगाउन सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सचिवालय बैठक प्रधानमन्त्री निवास बालुवाटारमा सुरू भएको छ।
बालुवाटारमा सुरू भएको सचिवालयले बैठकमा सभामुखको उम्मेदवारबारे छलफल भइरहेको छ। बैठकमा समसामयिक राजनीतिक विषयका साथै नयाँ सभामुखका प्रस्तावित उम्मेदवारका सम्बन्धमा विचार विमर्श भइरहेको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले बताए।
नेकपाले सभामुखको उम्मेदवार टुंगो लगाउन नसक्दा संसद् चल्न सकेको छैन। पुस ११ गते बोलाएको प्रतिनिधिसभाको बैठक सूचना टाँसेर स्थगित भएको थियो।
बलात्कारको आरोप लागेपछि तत्कालीन सभामुख कृष्णबहादुर महराले असोज १३ गते राजीनामा दिएका थिए। त्यसयता सभामुख पद रिक्त रहेको छ।
संसद्को हिउदे अधिवेशन उपसभामुख डा.शिवमाया तुम्बाहाङफले संचालन गरेकी थिइन्। पुस ११ को बैठकमा सभामुख चयनको प्रक्रिया सुरू गर्ने तयारी गरिएको थियो। तर, नेकपाले टुंगो लगाउन नसक्दा स्थगित भएको थियो।
सभामुखका लागि नेकपाभित्र तीन जनाको नाम चर्चामा छ। राष्ट्रपति विद्यादेवी भण्डारीले उपसभामुख डा.तुम्बाहाङफेलाई नै सभामुख बनाउनु पर्नेमा जोड दिएकी छन भने नेकपा अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वसभामुख सुवाष नेम्वाङको पक्षमा छन्। त्यस्तै, अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेकपा स्थायी समिति सदस्य अग्नि सापकोटालाई सभामुख बनाउनु पर्ने पक्षमा छन्।
आजको बैठकमा मिलेनियम कर्पोरेशन च्यालेञ्ज (एमसीसी)बारे छलफल हुने जनाएको छ। गत साता सम्पन्न पार्टी स्थायी कमिटीको बैठकले एमसीसीबारे निर्णय गर्ने अधिकार सचिवालयलाई सुम्पेको थियो।




