अर्थमन्त्री पौडेलले भने– संकट उन्मूख रहेको अर्थतन्त्रलाई सुरक्षित ठाउँमा फर्काउँछु
अर्थतन्त्रलाई लयमा फर्काउन विगतका अनुभवबाट पाठ लिने तथा अर्थतन्त्रसँग जोडिएका सबै क्षेत्र र विज्ञहरूसँग राय सल्लाह लिएर अघि बढ्ने उनको भनाइ छ।
काठमाडाैं, पुस ११ : नवनियुक्त उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले संकटको डिलमा रहेको अर्थतन्त्रलाई सुरक्षित ठाउँमा फर्काउन र व्यवस्थित गर्नका लागि आफूले काम गर्ने बताएका छन्।
‘अर्थतन्त्रका अहिलेका चुनौतीहरू के हुन् ? ती चुनौती सिर्जना हुनुको कारण के हो ? त्यसका राष्ट्रिय र अन्तर्राष्ट्रिय कारण के हुन् ? र तिनको समाधानका लागि के कदम चाल्नुपर्छ ? भन्ने विषयमा सबै क्षेत्रका विज्ञसँग सघन छलफल गर्नेछौ’, उनले भने, ‘अर्थतन्त्रका समस्या पहिचान गर्ने र त्यसको समाधान गर्ने आत्मविश्वासका साथ यो जिम्मेवारीमा आएको छु।’
अर्थतन्त्रलाई लयमा फर्काउन विगतका अनुभवबाट पाठ लिने तथा अर्थतन्त्रसँग जोडिएका सबै क्षेत्र र विज्ञहरूसँग राय सल्लाह लिएर अघि बढ्ने उनको भनाइ छ। नेपालको अर्थतन्त्र सम्हाल्नै नसकिने अवस्थामा पुगिनसकेको पनि उनले बताए।
‘अर्थतन्त्रका अघि देखा परेका चुनौतीहरू काबु बाहिर छैनन् । तिनलाई समाधान गर्न सकिन्छ। राष्ट्रिय अर्थतन्त्रलाई सबल ढंगले अघि बढाउन सकिन्छ भन्ने विश्वास पनि दिलाउन चाहन्छु’, पौडेलले भने। उनले सार्वजनिक खर्चको दायरालाई कसरी कम गर्ने र पूँजीगत खर्च कसरी बढाउन सकिन्छ भन्नेतर्फ आफ्नो ध्यान केन्द्रीत हुने पनि बताए।
पौडेलको उपप्रधानमन्त्रीका रूपमा दोस्रो र अर्थमन्त्रीका रूपमा यो तेस्रो कार्यकाल हो । उनी रुपन्देही –२ बाट प्रत्यक्षतर्फ प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका थिए।











