‘माओवादीको अस्थिर राजनीतिक चरित्र फेरि उदांगियाे’
‘गठबन्धनको मुख्य ‘पार्टनर’ नेकपा माओवादी केन्द्रको अस्थिर राजनीतिक चरित्र फेरि एकपटक उदांगिएको छ। हामीबीच रहेको सिद्धान्तभन्दा माथि व्यक्तिवादी र मनोगत चिन्तनको पनि पराजय भएको छ।’
काठमाडाैं, पुस ११ : नेपाली कांग्रेसका नेता शेखर कोइरालले वर्तमान राजनीति घटनाक्रमले माओवादीको अस्थिर राजनीतिक चरित्र फेरि उदांगो भएको बताएका छन्। आइतबार एक विज्ञप्ति निकाल्दै नेता कोइरालाले प्रचण्डको सत्तारोहण अपेक्षित नभएको पनि बताएका छन्।
‘गठबन्धनको मुख्य ‘पार्टनर’ नेकपा माओवादी केन्द्रको अस्थिर राजनीतिक चरित्र फेरि एकपटक उदांगिएको छ। हामीबीच रहेको सिद्धान्तभन्दा माथि व्यक्तिवादी र मनोगत चिन्तनको पनि पराजय भएको छ,’ कोइरालाले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘अब फेरि नेपाली कांग्रेस नयाँ सोच, दृष्टिकोण, ऊर्जावान र एकताबद्ध भएर राष्ट्रिय राजनीतिमा अगाडि आउनुको विकल्प छैन।’
उनले संसदीय व्यवस्थामा यस्ता घटना असम्भव नभए पनि सामान्यतया अराजनीतिक र अराजकताको पराकाष्ठा मानिने बताएका छन्। ‘संसद् नयाँ सरकारको नेतृत्वमा प्रचण्डको सत्तारोहण अपेक्षित थिएन । संसदीय व्यवस्थामा यस्ता घटनाहरू असम्भव नभए पनि सामान्यतया अराजनीतिक र अराजकताको पराकाष्ठा मानिन्छ,’ कोइरालाले भनेका छन्।
कोइरालाले पार्टीको गल्ती कमजोरीका कारण संघदेखि प्रदेशसम्म कांग्रेस विपक्षमा बस्नुपर्ने अवस्था आएको बताए। उनले कांग्रेस नयाँ भूमिका रहने बताए।
‘कांग्रेस अब राष्ट्रिय राजनीतिमा नयाँ भूमिकामा प्रवेश गर्दैछ। कांग्रेस केन्द्रदेखि प्रदेश सबैतिर विपक्षमा बस्नुपर्ने वातावरण हठात आएको छ। यसबाट हामी निराश हुने छैनौँ,’ उनले भनेका छन्, ‘यहाँबाट हामी सबैको परीक्षा शुरू भएको ठानी अब हामी फेरि नयाँ ढंगले जनता बीच जानेछौँ।’
पार्टीको गल्ती कमजोरीको लागि माफी माग्ने उल्लेख गर्दै उनले जनतासँग संवाद शुरू गरेर नयाँ कांग्रेस निर्माणको महाअभियानमा जुट्ने बताए । उलने कांग्रेस सशक्तीकरणको अभियानमा जुट्ने बताए।
नेपाली कांग्रेसका नेता शेखर कोइरालाले पार्टीका नेता तथा कार्यकर्ता निराश हुनुपर्ने कुनै कारण नरहेको बताएका छन्। सत्ता गुम्दैमा कांग्रेसको शक्ति नगुमेको उनको भनाइ छ।











