प्रधानमन्त्री बन्नकै लागि प्रचण्डले प्रतिगामी शक्तिहरूसँग गठबन्धन गरे : चित्रबहादुर केसी
उनले एमाले-माओवादीसहितका दलबाट बनेको गठबन्धन अराजनीतिक भएको टिप्पणी पनि गरे।
काठमाडौं, पुस ११ : राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले प्रधानमन्त्री बन्नकै लागि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रतिगामी शक्तिहरूसँग गठबन्धन गरेको आरोप लगाएका छन्।
कांग्रेस नेतृत्वको लोकतान्त्रिक वाम गठबन्धन त्यागेर प्रचण्ड एमाले अध्यक्ष ओलीसँग सहकार्य गर्दै प्रधानमन्त्री नियुक्त भएको भोलिपल्ट सोमबार एक विज्ञप्ति जारी गर्दै अध्यक्ष केसीले त्यस्तो आरोप लगाएका हुन्। उनले एमाले-माओवादीसहितका दलबाट बनेको गठबन्धन अराजनीतिक भएको टिप्पणी पनि गरे।
‘गठबन्धनको तर्फबाट प्रधानमन्त्री पद नपाएको हुनाले प्रचण्डले आफ्नो नेतृत्वमा सरकार बनाउनका लागि एमालेसित साँठगाँठ गर्ने जुन कार्य गरेका छन्, त्यो सिद्धान्तहीन, अराजनीतिक र हद दर्जाको अवसरवादी कार्य हो,’ विज्ञप्तिमा उल्लेख छ, ‘प्रचण्डको उक्त कार्य यही मंसिर ४ गते भएको प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा व्यक्त जनताको जनादेशको अपमान र धोकासमेत हो।’
उनले ‘प्रधानमन्त्री बन्न प्रचण्डले सबै प्रतिगामी शक्ति तथा अमेरिका र भारतीय साम्राज्यवादपरस्त तत्वहरूसित पनि गठबन्धन गरेको आरोप लगाएका छन्। ‘उनको त्यो कार्यको हामीले कडा शब्दमा निन्दा तथा भर्त्सना गर्दछौं,’ उनले विज्ञिप्तमा लेखेका छौं।











