सभापतिको फोन नआएपछि अपमान महसुस भयो अनि पोखरा आएँ : महामन्त्री थापा
लिटरेचर फेस्टिभलमा ‘राजनीतिमा समाजको ऐना’ बहसमा सहभागी हुँदै उनले त्यस्तो बताएका हुन्। उनलाई ‘तपाईं जितेर आउनुभएको कि हारेर?’ भन्ने प्रश्न तेर्स्याइएको थियो।
पोखरा, पुस ११ : कांग्रेस महामन्त्री गगनकुमार थापाले सरकार गठनका सन्दर्भमा सभापति शेरबहादुर देउवाले पार्टीभित्र छलफल नगरेपछि आफू अपमानित भएर पोखरा आएको बताएका छन्।
लिटरेचर फेस्टिभलमा ‘राजनीतिमा समाजको ऐना’ बहसमा सहभागी हुँदै उनले त्यस्तो बताएका हुन्। उनलाई ‘तपाईं जितेर आउनुभएको कि हारेर?’ भन्ने प्रश्न तेर्स्याइएको थियो।
सत्ता गठबन्धनमा पार्टी सभापति शेरबहादुर देउवाले पार्टीमा छलफल गर्नुपर्छ भनेको सुनेको र कतिबेला बोलावट हुन्छ भनेर फोन कुरेर बसेको तर छलफलका लागि नबोलाइएपछि अपमान महसुस गरेर पोखरा आएको उनको भनाइ थियो।
‘म पार्टीको निर्वाचित महामन्त्री हुँ। सांसद पनि हुँ। सभापतिले पार्टीभित्र छलफल गरेर गठबन्धनमा जवाफ दिन्छु भन्नुभएको थयो,’ उनले भने, ‘तर उहाँको फोन कुरेर बसिरहें तर उहाँले सल्लाह नगरेपछि अपमानित महसुस गरेर पोखरा आएँ।’
संसदीय समितिमा दलको नेताबाहेक महामन्त्रीहरू पदेन सदस्य रहने भन्दै उनले भने, ‘पार्टी कार्यालयमा छलफल भए गइन्थ्यो होला तर घरमा नबोलाई जान मिलेन ।’ कांग्रेसका लागि अहिलेको परिस्थिति सर्पवाला लुडोझैँ भएको र ९९ मा पुगेर तलै झरेको अवस्था आएको उनले बताए।
यसपालि हार–जितको जे भए पनि सकिएको उल्लेख गर्दै उनले अब कांग्रेस अब सम्पूर्ण रूपमा पार्टी सुदृढीकरणमा लाग्नुपर्नेमा उनले जोड दिए।











