Kathmandu Press

केन्द्रीय समितिको निर्णयप्रति पौडेल पक्षले असहमति राख्नुपर्ने कारण छैन : डा. महत

काठमाडौं, पुस १२ : नेपाली कांग्रेसका सहमहामन्त्री डा. प्रकाशशरण महतले पार्टीको केन्द्रीय समितिको बैठकले शुक्रबार गरेका निर्णयबारे कसैले पनि असहमति राख....

केन्द्रीय समितिको निर्णयप्रति पौडेल पक्षले असहमति राख्नुपर्ने कारण छैन : डा. महत

काठमाडौं, पुस १२ : नेपाली कांग्रेसका सहमहामन्त्री डा. प्रकाशशरण महतले पार्टीको केन्द्रीय समितिको बैठकले शुक्रबार गरेका निर्णयबारे कसैले पनि असहमति राख्नुपर्ने कारण नरहेको स्पष्ट पारेका छन्। 

शनिबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कार नेता महतले पार्टी सभापति शेरबहादुर देउवाले सबैसँगको छलफल र सहमतिपछि नै महाधिवेशनको मिति तोकेको दाबी गरे।

‘हिजो बसेको केन्द्रीय समितिको बैठकले सर्वसम्मतीबाट २०७७ फागुन ७ गतेदेखि १० गतेसम्म महाधिवेशन गर्ने निर्णय गरेको हो। यो समग्र पार्टीको चाहना हो,’उनले भने।

उनले सोहीअनुसार वडादेखि सम्पूर्ण तहसम्मको अधिवेशन कार्यतालिका पनि सार्वजनिक गरिएको बताए। हिजोको बैठकले विभागको संख्या थप्ने पनि निर्णय गरेको र बढी भन्दा बढि साथीहरुलाई जिम्मेवारी दिने उद्देश्य राखेको पनि महतले स्पष्ट पारे।

उनले भने,‘यसमा पनि कसैको असहमति हुनुपर्ने कुनै कारण म देख्दिनँ। बरु, हिजोको बैठकमा नेविसंघलाई पूर्णता दिनेबारे निर्णय गर्न सकिएन। यसबारेमा केही असहमति बाँकी भएकाले हिजो नेविसंघबारे निर्णय नभएको हो।’ 

उनले बैठकले जे निर्णय गरेको छ ती सबै समग्र पार्टी पंक्तिको भावनालाई ध्यानमा राखेर भएको पनि बताए। उनले भने,‘पार्टीको महाधिवेशन लगायतका विषयमा हिजो जे जति अन्योलता थिए, अब ती सबै समाप्त भएका छन्।’

महतले पार्टीको सम्पूर्ण ध्यान अब सरकारले गरेका मनपरी कामको विरोधमा हुनुपर्ने बताए। उनले भने,‘नेपाल ट्रष्टको जग्गा मनपरी ढंगले लिजमा दिइएको छ, यसमा नीतिगत भ्रष्टाचार भएको छ। यस्तो बेलामा हाम्रो ध्यान र शक्ति सरकारको गलत कामको विरुद्धमा हुनुपर्छ।’

उनले पार्टीको विभाग गठन गर्न बरु ढिलाइ भएको बताए। उनले भने,‘विभाग गठन गर्न ढिलाइ भएकै हो। पार्टीको महाधिवेशन २०७७ फागुनभित्रै गर्ने निर्णयमा वरिष्ठ नेताज्यूको असहमति हुनुपर्ने कारण नै छैन। पार्टी केन्द्रीय समितिको एक वर्षका लागि थपिएको कार्यकालमा पनि पौडेल समूहको असहमति केही पनि छैन, उहाँहरुले पनि बढीमा एक वर्ष कार्यकाल थप्नुपर्ने कुरा उठाउनुभएको थियो।’

पार्टीको महाधिवेशनको कार्यतालिकाबारे वरिष्ठ नेता रामचन्द्र पौडेलसँग उपसभापति विमलेन्द्र निधिले छलफल गरेको पनि उनले सुनाए।

उनले भने,‘पार्टीको महाधिवेशन, विभागको संख्या थप्ने विषयमा उहाँहरुको पनि असहमति र आपत्ति थिएन। उहाँहरुले नेविसंघमा ४० प्रतिशत माग्नुभएको छ, हामी ४९ प्रतिशत दिनपनि तयार छौं। अहिलेपनि केही बिग्रेको छैन। भातृ संगठनलाई पूर्णता दिनुपर्छ।’
 

प्रकाशित मिति: १७:०६ बजे, शनिबार, पुस १२, २०७६