Kathmandu Press

तेस्रोपटक प्रधानमन्त्री बनेका प्रचण्ड को हुन्?

पहिलो र तेस्रोपटक प्रधानमन्त्री बन्दा दाहालको सहकार्य एमालेसँग थियाे भने दोस्रोपटक प्रधानमन्त्री हुँदा उनको कांग्रेससँग सत्ता साझेदारी गरेका थिए।
तेस्रोपटक प्रधानमन्त्री बनेका प्रचण्ड को हुन्?

काठमाडौं, पुस १० : माओवादी केन्द्रका अध्‍यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ तेस्रोपटक प्रधानमन्त्रीमा नियुक्त भएका छन्। राष्ट्रपति विद्यादेवी भण्डारीले आइतबार साँझ उनलाई प्रधानमन्त्रीमा नियुक्त गरेकी हुन्।

प्रचण्ड यसअघि २०६५ र २०७३ मा ९/९ महिनाको अवधि प्रधानमन्त्री बनेका थिए। राष्ट्रपति विद्यादेवी भण्डारीले दिएको समयसीमाअनुरुप आइतबार ५ बजेअगावै प्रचण्डले आफ्नो दल माओवादी केन्द्रका साथै एमाले, राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, जनता समाजवादी पार्टी, जनमत पार्टी र राष्ट्रिय उन्मुक्ति पार्टीको समर्थन र दलका १६६ र स्वतन्त्र ३ सहित १६९ सांसदको हस्ताक्षरसहित प्रधानमन्त्रीमा दाबी पेस गरेका थिए।

को हुन् प्रचण्ड?

कास्की जिल्लाको तत्कालीन ढिकुरपोखरी गाविस २ लिवाडेमा २०११ साल मंसिर २६ गतेका दिन उनको जन्म भएको हो। पिता मुक्तराम दाहाल र माता भवानीदेवी दाहालका जेठा छोरा भएर जन्मिएका उनको बाल्यकालको नाम भने छविलाल दाहाल थियो। आधिकािरक नाम पुष्पकमल दाहाल भए पनि उनको भूमिगत नाम प्रचण्ड थियो। अहिले पनि उनी प्रचण्ड र पुष्पकमल दाहाल दुवै नामले चर्चित छन्। 

पुष्पकमल दाहाल ‘प्रचण्ड’ २०२८ सालमा कम्युनिस्ट पार्टीमा लागेका थिए। उनी त्यतिबेला कक्षा १० मा पढ्थे। २०४२ सालमा नेकपा मशालको पाँचौँ महाधिवेशनबाट केन्द्रीय सदस्य बनेका उनी २०४६ सालको जनआन्दोलनअघि सोही पार्टीका महासचिव बने।

०४६ सालको जनआन्दोलनपछि तत्कालीन चार कम्युनिस्ट पार्टीहरू मशाल, चौथो महाधिवेशन, सर्वहारावादी श्रमिक संगठन र विद्रोही मसाल मिलेर बनेको एकता केन्द्रको समेत प्रचण्ड महामन्त्री भए। २०५१ सालमा फेरि एकताकेन्द्र छुट्टीएर दुई चिरा भएपछि बनेको नेकपा माओवादीको नेतृत्व प्रचण्डले गरे। सोही पार्टी बनेको एक वर्षपछि जनयुद्धका नाममा सशस्त्र विद्रोह सुरु भएको हो। 

नेकपा माओवादीले २०५२ फागुन १ मा थालेको जनयुद्ध उनकै नेतृत्वमा भएको थियो। २०५८ सालमा नेकपा माओवादीको अध्यक्ष भएयता उनी लगातार पार्टी नेतृत्वमा रहँदै आएका छन्। १३ वर्ष भूमिगत जीवन बिताएका उनी २०६२-६३ को जनआन्दोलन पछि खुला राजनीतिमा प्रवेश गरेका हुन्।

२०७५ सालमा माओवादी केन्द्र र नेकपा एमालेको पार्टी एकीकरणपछि बनेको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) मा दुईजना अध्यक्ष बन्ने व्यवस्था गरिएको थियो। त्यतिबेला पनि उनी अध्यक्ष नै थिए।

संसदीय यात्रा

२०६४ सालमा सम्पन्न पहिलो संविधानसभामा उनी रोल्पा र काठमाडौं क्षेत्र नं. १० बाट निर्वाचित भएका थिए। दोस्रो संविधानसभा २०७० मा सिरहा ५ बाट निर्वाचित उनी २०७४ सालमा प्रतिनिधिसभा सदस्यमा चितवन ३ बाट निर्वाचित भए। यसपटक गोरखा २ बाट चुनाव जितेर आएका उनी तेस्रोपटक प्रधानमन्त्री बनेका छन्।

माओवादी शान्ति प्रक्रियामा आएपछि संविधान सभाको पहिलो निर्वाचनमार्फत तत्कालीन नेकपा माओवादी पहिलो दल बन्दा उनी २०६५ साल भदौपछि नौ महिना प्रधानमन्त्री बने।

२०७३ सालमा उनी फेरि पनि नौ महिनाका लागि प्रधानमन्त्री बने। पहिलो र तेस्रोपटक प्रधानमन्त्री बन्दा दाहालको सहकार्य एमालेसँग थियाे भने दोस्रोपटक प्रधानमन्त्री हुँदा उनको कांग्रेससँग सत्ता साझेदारी गरेका थिए।

संविधानसभाको पहिलो चुनावमा माओवादीले उनलाई कार्यकारी राष्ट्रपति भनेर प्रचार गरेको थियो। तर राष्ट्रपति आलंकारिक रहने भएपछि उनी राष्ट्रपति चुनावमा उठेनन्। अहिले पनि उनलाई ‘भित्ते राष्ट्रपति’ भन्ने गरिन्छ। 

प्रकाशित मिति: १९:१४ बजे, आइतबार, पुस १०, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्