Kathmandu Press

प्रधानमन्त्रीमा माओवादी अध्यक्ष दाहाललाई १६९ सांसदको समर्थन

प्रधानमन्त्रीमा माओवादी अध्यक्ष दाहाललाई १६९ सांसदको समर्थन

काठमाडाैं, पुस १० : प्रतिनिधिसभाका कूल एक सय ६९ सांसदसहित नेकपा (माओवादी) केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नयाँ प्रधानमन्त्रीका लागि आफ्नो दाबी पेश गरेका छन।

नेपालको संविधानअनुसार राष्ट्रपति विद्यादेवी भण्डारीले दिएकाे आज साँझसम्मको समयसीमाभित्रै अध्यक्ष दाहालले प्रधानमन्त्रीका लागि दाबी पेश गरेका हुन।

नेपालको संविधानको धारा ७६ को उपधारा २ बमोजिम माओवादी केन्द्रका संसदीय दलका नेतासमेत रहेका अध्यक्ष दाहाललाई प्रधानमन्त्रीका लागि दाबी पेश गरेका हुन। उनलाई कूल एक सय ६९ सांसदको समर्थन छ ।

त्यसमा नेकपा (एमाले)को ७८, माओवादी केन्द्रको ३२, राष्ट्रिय स्वतन्त्र पार्टीको २०, राष्ट्रिय प्रजातन्त्र पार्टीको १४, जनता समाजवादी पार्टीको १२, जनमत पार्टीको छ, नागरिक उन्मुक्ति पार्टीका चार र अन्य तीन स्वतन्त्र सांसदको समर्थन छ ।

राष्ट्रपति भण्डारीलाई पेश गरिएको समर्थनपत्रमा एमाले संसदीय दलका नेता केपी शर्मा ओली, माओवादी केन्द्रका दल नेता दाहाल, स्वतन्त्र पार्टीका संसदीय दलका नेता रवि लामिछाने, राष्ट्रिय प्रजातन्त्र पार्टीका संसदीय दलका नेता राजेन्द्र लिङ्देनले हस्ताक्षर गरेका छन।

यस्तै, जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव, जनमत पार्टीका संसदीय दलका नेता चन्द्रकान्त राउत, नागरिक उन्मुक्ति पार्टीका संसदीय दलका नेता रञ्जिता श्रेष्ठले हस्ताक्षर गरेका छन। यसैगरी स्वतन्त्र सांसद प्रभु साह, किरण साह र डा अमरेशकुमार सिंहले पनि समर्थन गरेका छन।

प्रकाशित मिति: १८:१४ बजे, आइतबार, पुस १०, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्