Kathmandu Press

बालकोटको बार्दलीबाट ओली र प्रचण्डकाे अभिवादन

आज एमाले र माओवादीका साथै केही अन्य दलको बैठकपछि ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ बार्दलीमा उभिएर अभिवादन गरेका थिए।
बालकोटको बार्दलीबाट ओली र प्रचण्डकाे अभिवादन

काठमाडाैं, पुस १० : नयाँ सरकार गठनका लागि नयाँ समीकरण बनेसँगै नेकपा एमालेका अध्यक्ष केपी ओलीको बालकोटस्थित निवासको बार्दलीकाे तस्बिर चर्चामा आएको छ। 

आज एमाले र माओवादीका साथै केही अन्य दलको बैठकपछि ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बार्दलीमा उभिएर अभिवादन गरेका थिए।

२०७८ असारमा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड कांग्रेससँग गठबन्धन गरेर बालुवाटारबाट निस्केर बालकोटस्थित आफ्नै निवासमा बार्दलीमा पुगेर त्यहाँ जम्मा भएका नेता–कार्यकर्तालाई सम्बोधन गरेपछि ‘बालकोटको बार्दली’ भन्ने शब्दावलीले निकै चर्चा पाएको थियो। यसपालि ओलीसँग प्रचण्ड मिल्दा बार्दलीको फेरि चर्चा भएको हो।

आज ओली र प्रचण्डले बालकोटको बार्दलीबाट संयुक्त अभिवादन गरेको तस्बिर यतिखेर सबै सञ्चारमाध्यम तथा सामाजिक सञ्जालहरूमा देखिएका छन्।    

नेपाली कांग्रेस नेतृत्वको गठबन्धन छाडेसँगै प्रचण्डको नेतृत्वमा सरकार बनाउन एमाले सहमत भएको छ। नयाँ सरकारको नेतृत्व गर्ने अवसर पाएपछि प्रचण्ड बार्दलीमा प्रफुल्ल देखिएका थिए। ओलीले बार्दलीबाट अभिवादन गर्ने क्रममा निकै खुसी देखिन्थे।      

स्रोतका अनुसार राष्ट्रपति एमालेले लिने सहमति भएकाे छ। प्रधानमन्त्री र सभामुखमा आलोपालो गर्ने सहमति भएको छ।

सुरुमा प्रचण्ड प्रधानमन्त्री हुँदा एमालेकाे सभामुख र पछि एमालेकाे प्रधानमन्त्री हुँदा सभामुख माओवादीले पाउनेछ ।

प्रकाशित मिति: १७:०८ बजे, आइतबार, पुस १०, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्