Kathmandu Press

सात दलकाे सहमति र १६६ सांसदको समर्थनमा प्रचण्ड प्रधानमन्त्री बन्दै 

बालकोटमा सहमति जुटेलगत्तै नेताहरु प्रधानमन्त्रीको दाबी गर्न बहुमत सांसदको हस्ताक्षरसहित शीतलनिवासतर्फ लागेका छन्। 
सात दलकाे सहमति र १६६ सांसदको समर्थनमा प्रचण्ड प्रधानमन्त्री बन्दै 

काठमाडौं, पुस १० : नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको नेतृत्वमा आगामी सरकार बन्ने भएको छ। आज एमाले अध्यक्ष केपी ओलीको निवास बालकोटमा बसेको बैठकले प्रचण्डलाई प्रधानमन्त्री बनाउने सहमति गरेको हो।

सत्ता गठबन्धनको बैठकमा सहमति नजुटेपछि बालकोट पुगेका प्रचण्ड, एमाले अध्यक्ष ओली र अन्य विभिन्न दलहरुसँगको छलफलमा प्रचण्डलाई प्रधानमन्त्री बनाउने सहमति जुटेको हो। 

छलफलले एमाले, माओवादी केन्द्र, राप्रपा, जसपा, राष्ट्रिय स्वतन्त्र पार्टी, जनमत र नागरिक उन्मुक्ति गरी ७ पार्टीको नयाँ गठबन्धन बनाएर माओवादी केन्द्रका अध्यक्ष प्रचण्डलाई प्रधानमन्त्री बनाउने सहमति गरेको एमाले महासचिव शंकर पोखरेलले बताए। उनका अनुसार यी ६ दलका सांसद संख्या १६६ रहेको छ।

बालकोट बैठकपछि पत्रकारसँग कुराकानी गर्दै एमाले महासचिव शंकर पोखरेलले राष्ट्रपतिले संविधानको धार ७६ उपधारा २ अनुसार सरकार गठन गर्न दिएको समय समाप्त हुने दिनसम्म ठुलो दल कांग्रेसले सरकार गठन गर्न पहलकदमी नगरेपछि स्वाभाविक रुपमा दोस्रो ठुलो दलको हैसियतले नयाँ सरकार बनाउन पहल कदमी लिएको बताए। उनले नयाँ समीकरण बाध्यतापूर्वक आइलागेको जिकिर गरे। 

‘माओवादी केन्द्रका अध्यक्ष प्रचण्डको नेतृत्वमा सरकार गठन गर्न राष्ट्रपतिसमक्ष दाबी पेस गर्ने सहमति भएको छ,’ उनले भने,  ‘त्यसमा एमाले, माओवादी, राप्रपा, रास्वपा, जसपा, जनमत र नागरिक उन्मुक्ति पाटी मिलेर १६६ पुगेको छ। यी दलको सहमतिमा प्रचण्डलाई प्रधानमन्त्रीका रुपमा सहमति गरेका हाैं।’ 

नेताहरुबीच एमाले र माओवादीले पाँचवर्षे कार्यकालमा आधाआधा समय सरकारको नेतृत्व गर्नेगरी सहमति भएको पनि जनाइएकाे छ। बालकोटमा सहमति जुटेलगत्तै नेताहरु प्रधानमन्त्रीको दाबी गर्न बहुमत सांसदको हस्ताक्षरसहित शीतलनिवासतर्फ लागेका छन्। त्यसअघि प्रचण्डलाई प्रधानमन्त्री बनाउनेबारे राष्ट्रपति कार्यालयमा जानकारी पठाइसकिएको बताइएको छ।

प्रकाशित मिति: १६:२९ बजे, आइतबार, पुस १०, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्