बालकोट पुगे प्रचण्ड, ओलीसँग छलफल सुरू, अन्य दुई दल पनि सहभागी
बालुवाटारमा बसेको सत्ता गठबन्धनको बैठकबाट बाहिरिएसँगै प्रचण्ड बालकोट पुगेका हुन्।
काठमाडौं, पुस १० : सत्ता गठबन्धन टुटेसँगै नयाँ सत्ता समीकरणका लागि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' ओली निवास बालकोट पुगेका छन्। उनी र एमाले अध्यक्ष केपी ओलीसँग छलफल भएलगत्तै बहुपक्षीय बैठक सुरू भएकाे छ।
बैठकमा एमाले, माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी र जनता समाजवादी पार्टी सहभागी छन्।
बालुवाटारमा बसेको सत्ता गठबन्धनको बैठकबाट बाहिरिएसँगै प्रचण्ड बालकोट पुगेका हुन्। महासचिव देव गुरूङलगायत माओवादीका केही नेता अगाडि नै बालकोट पुगिसकेका थिए।
बैठकमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने, जसपाका संघीय परिषद् अध्यक्ष अशोक राई पनि बालकाेट पुगिसकेका थिए।
त्यसअघि राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले पनि ओलीसँग छलफल गरेका थिए। सबै दलका नेताले ओलीसँग छुट्टाछुट्टै छलफल गरेका थिए।
एमालेसँग ७८, माओवादी केन्द्रसँग ३२, रास्वपासँग २० र जसपासँग १२ जना सांसद छन् । २७५ सदस्यीय प्रतिनिधिसभामा सरकार गठनका लागि १३८ सांसदको समर्थन चाहिन्छ।
राष्ट्रिपति विद्यादेवी भण्डारीले संविधानको धारा ७६ (२) अनुसार मिलिजुली सरकार गठनका लागि दिएको समयसीमा आज साँझ ५ बजे सकिँदैछ।











