Kathmandu Press

कुरा नमिलेपछि बालुवाटारबाट बालकाेट हानिए प्रचण्ड

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीका प्रस सल्लाहकार रामशरण बजगाईंले प्रचण्ड बालकोट नआइपुगेको तर आउन सक्ने सम्भावना रहेको संकेत गरे।
कुरा नमिलेपछि बालुवाटारबाट बालकाेट हानिए प्रचण्ड

काठमाडाैं, पुस १० : सरकार गठनका लागि सत्तारुढ गठबन्धनबीच भएको निर्णायक छलफल बिनानिष्कर्ष टुंगिएको छ।

निर्णायक छलफलका लागि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल  ‘प्रचण्ड’, नेकपा एकीकृत समाजवादी अध्यक्ष माधव नेपाल र सम्मानित नेता झलनाथ खनाल बालुवाटारमा पुगेका थिए। बैठक निष्कर्षविहीन बनेपछि उनीहरू तीनैजना बाहिरिएका छन्।

कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवासँग सत्ता बाँडफँटमा कुरा नमिलेपछि प्रचण्ड बालुवाटारबाट सिधै बालकोटतर्फ लागेको बुझिएको छ। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीका प्रस सल्लाहकार रामशरण बजगाईंले प्रचण्ड बालकोट नआइपुगेको तर आउन सक्ने सम्भावना रहेको संकेत गरे।

तथापि एमाले अध्यक्ष ओलीले माओवादीको एमालेसँग सहकार्य गर्ने सम्भावना समाप्त भएको बताएका थिए। राष्ट्रिपतिले दिएको समयसीमा सकिन तीन घन्टा बाँकी हुँदा अब के हुन्छ भनेर आम चासोको विषय बनेको छ।

शनिबार साँझको गठबन्धन बैठकले कांग्रेस, माओवादी र नेकपा एकीकृत समाजवादीले आलोपोलो सरकारको नेतृत्व गर्ने निष्कर्ष निकाले पनि को पहिला प्रधानमन्त्री बन्ने भन्ने विषय टुंगो नलाग्दा आजको बैठक बसेको थियो। 

बालुवाटारबाट बाहिरिँदै गर्दा प्रचण्डले माओवादी नेताहरूलाई कांग्रेसले गठबन्धनले गठबन्धन टुटाएकाे आरोप लगाएको बुझिएको छ। 

राष्ट्रिपति विद्यादेवी भण्डारीले संविधानको धारा ७६ (२) अनुसार मिलिजुली सरकार गठनका लागि दिएको समयसीमा आज साँझ ५ बजे सकिँदैछ।

प्रकाशित मिति: १३:३५ बजे, आइतबार, पुस १०, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्