प्रधानमन्त्रीको टुंगो लगाउन सत्ता गठबन्धनको बैठक सुरु
आजको बैठकले आगामी सरकारको नेतृत्व कसले गर्ने भन्ने टुंगो लगाउने छ ।
काठमाडौं, पुस १० : सत्ता गठबन्धनको बैठक सुरु भएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा केहीबेरअघि बैठक सुरु भएको हो ।
आजको बैठकले आगामी सरकारको नेतृत्व कसले गर्ने भन्ने टुंगो लगाउने नेताहरुले बताएका छन् । सरकार गठनका लागि राष्ट्रपति विद्यादेवी भण्डारीले दिएको समयसिमा आज सकिँदै छ । बैठकले त्यसअघि देउवा र प्रचण्डमध्ये को प्रधानमन्त्री बन्ने विषयको टुंगो लगाउने छ ।
गठबन्धनको बैठकअघि नेपाली कांग्रेसका शीर्ष नेताहरुको बैठक बसेको थियो । त्यसपछि प्रधानमन्त्री देउवाले स्वतन्त्र सांसदहरुसँग पनि सामान्य छलफल गरेका थिए। त्यसपछि देउवा र प्रचण्डले छुट्टाछुट्टै छलफल गरेका थिए।
शनिबारको बैठकले गठबन्धनको नेतृत्वमा सरकार बनाउने र कांग्रेस, माओवादी केन्द्र र एकीकृत समाजवादीले आलोपालो सरकारको नेतृत्व गर्ने सहमति भइसकेको छ ।
सरकारको नेतृत्व आलोपालो गर्ने भनिएपनि कसले पहिला नेतृत्व लिने भन्ने विषयको टुंगो आजको बैठकले लगाउने छ । प्रधानमन्त्री शेरबहादुर देउवालाई पहिलो कार्यकालको प्रधानमन्त्री बन्न पार्टीका नेताहरुले दबाब दिँदै आइरहेका छन् भने माओवादी अध्यक्ष प्रचण्ड आफू पहिलो कार्यकालका लागि प्रधानमन्त्री बन्नुपर्ने अडानमा छन् ।











