सत्ता गठबन्धनको बैठक अघि बालुवाटारमा कांग्रेस शीर्ष नेताहरुको छलफल
आइतबार बिहान १० बजेका लागि बोलाइएको गठबन्धनको बैठकमा कांग्रेसको एकीकृत धारणा प्रस्तुत गर्न कांग्रेसका शीर्ष नेताहरु छलफलमा जुटेका हुन् ।
काठमाडौं, पुस १० : सरकार गठनको सम्बन्धमा निर्णायक छलफल गर्न बोलाइएको सत्ता गठबन्धनको बैठक अघि नेपाली कांग्रेस आन्तरिक छलफलमा जुटेको छ । आइतबार बिहान १० बजेका लागि बोलाइएको गठबन्धनको बैठकअघि कांग्रेसका शीर्ष नेताहरु छलफलमा जुटेका हुन् ।
प्रधानमन्त्री निवासमा केही शीर्ष नेताहरुको छलफल चलिरहेको बालुवाटार स्रोतले जानकारी दिएको छ । गठबन्धनको बैठकमा कांग्रेसको एकीकृत धारणा प्रस्तुत गर्न बैठक बसेको हो ।
बिहान १० बजे बोलाइएको गठबन्धनको बैठक केहीबेरमा बस्नेछ । उक्त बैठकले सरकारको नेतृत्व र शक्ति बाँडफाँटबारे निर्णय गर्नेछ । सरकारको नेतृत्व आलोपालो गर्ने भनिएपनि पहिले कसको नेतृत्वमा सरकार बनाउने भन्नेबारे गठबन्धनमा सहमति जुट्न सकेको छैन ।
ठूलो दल भएका कारण नेपाली कांग्रेस सरकारको नेतृत्व गर्न चाहन्छ तर नेकपा माओवादी केन्द्रले आफूले पहिले नेतृत्व गर्न पाउनुपर्ने अडान राख्दै आएको छ । आजको बैठकले सोही सम्बन्धमा निर्णय गर्नेछ ।
राष्ट्रपति विद्यादेवी भण्डारीले सरकार गठनका लागि दिएको समय आज साँझ ५ बजे समाप्त हुँदैछ । त्यसअघि दलहरुले बहुमत जुटाएर सरकारको नेतृत्व दाबी गर्नुपर्नेछ ।











