सरकार गठनका लागि सहमति जुटाउन बालुवाटारमा गठबन्धनकाे बैठक जारी
बैठकमा नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र राष्ट्रिय जनमोर्चाका शीर्ष नेता सहभागी रहेको जनाइएको छ।
काठमाडौं, पुस ९ : नयाँ सरकार गठनका लागि राष्ट्रपति विद्यादेवी भण्डारीले दिएको समयसीमा घर्किंदै जाँदा सत्तारुढ गठबन्धनका शीर्ष नेताहरूको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा जारी छ।
बैठकमा नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र राष्ट्रिय जनमोर्चाका शीर्ष नेता सहभागी रहेको जनाइएको छ। ती पार्टीका दोस्रो तहका केही नेता पनि बैठकमा सहभागी भएको बताइएको छ।
बैठकमा मुख्यतः प्रधानमन्त्रीमा कसलाई अगाडि सार्ने भन्ने विषयमा छलफल हुने बताइएको छ। संविधानको धारा ७६ (२) बमोजिम मिलिजुली सरकार बनाउन राष्ट्रपति विद्यादेवी भण्डारीले पुस १० साँझ ५ बजेसम्मको समय दिएकी छन्। उक्त समयसीमाभित्र कुनै प्रतिनिधिसभा सदस्यले आफ्नो पक्षमा बहुमत जुटाएर राष्ट्रपतिसमक्ष दाबी पेस गर्नुपर्नेछ।
सत्तारुढ गठबन्धनले सरकार निर्माणका लागि प्रयास गरिरहे पनि प्रधानमन्त्री, राष्ट्रपतिलगायत मुख्य पदहरुमा भागबन्डा मिलाउने प्रयास गरिरहेको छ।
नयाँ सरकारमा आलोपालो नेतृत्व गर्ने क्रममा सुरूमा आफूले प्रधानमन्त्री पाउनुपर्ने अडानमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' छन्। ठुलो दल भएको हैसियतले स्वाभाविक रुपमा आफूले नेतृत्व गर्न पाउनुपर्ने कांग्रेसको दाबी छ।
प्रधानमन्त्रीमा सहमति जुटाउन शनिबार बिहान कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालसँग छलफल गरेका थिए।
सत्ता गठबन्धन दलहरूले यसअघि आफ्नै नयाँ सरकार गठन गर्ने निर्णय गरिसकेका छन्।











