पौडेलले भेटे प्रचण्ड, गठबन्धनबाट नबाहिरिन आग्रह
भेटका लागि पौडेल आज (शनिबार) प्रचण्ड निवास पुगेका थिए। भेटका क्रममा पौडेलले प्रचण्डलाई सत्ता गठबन्धन नछोड्न सुझाएकाे बताइएकाे छ।
काठमाडौं, पुस ९ : नयाँ सरकार गठनका लागि राष्ट्रपति विद्यादेवी भण्डारीले दिएको समयसीमा घर्किंदै जाँदा नेताहरूले आपसी भेटघाटलाई तीव्रता दिएका छन्।
यसैक्रममा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' र कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलबीच खुमलटारमा भेटवार्ता भएको छ।
भेटका लागि पौडेल आज (शनिबार) प्रचण्ड निवास पुगेका थिए। भेटका क्रममा पौडेलले प्रचण्डलाई सत्ता गठबन्धन नछोड्न सुझाएकाे बताइएकाे छ। तर प्रचण्डले प्रधानमन्त्रीको अडानबाट पछि नहट्ने बताएकाे स्राेतकाे भनाइ छ।सुरूमा प्रधानमन्त्री बन्न नपाए गठबन्धन छाडेर एमालेसँग मिलेर जाने संकेत प्चणडले गरेका छन्। नयाँ सरकारमा आलोपालो नेतृत्व गर्ने क्रममा सुरूमा आफूले प्रधानमन्त्री पाउनुपर्ने अडानमा प्रचण्ड छन्।
पौडेलले पहिलो वा पछि जुनबेला भए पनि प्रधानमन्त्री बन्न पाउने भन्दै गठबन्धनबाट नबाहिरिन आग्रह गरेकाे बताइएकाे छ। को पहिले प्रधानमन्त्री बन्ने भनेर देउवा र प्रचण्डबीचमै समझदारी हुनुपर्नेमा पौडेलले जोड दिएका थिए।
प्रचण्डलाई भेटेलगत्तै पौडेलले नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललाई पनि भेटेका छन्।
सरकार निर्माणका लागि राष्ट्रपति विद्यादेवी भण्डारीले दिएकाे समयसीमा एक दिन मात्र बाँकी छ। पुस १० गते अपरान्ह ५ बजेसम्म दलहरूले बहुमत जुटाएर प्रधानमन्त्रीका लागि नाम सिफारिस गरिसक्नुपर्छ।











