प्रचण्डको प्रधानमन्त्री हुने सम्भावना लगभग समाप्त : ओली
अध्यक्ष ओलीले एमालेको गन्तव्य सरकार बनाउनु नभएको पनि बताए। ओलीले अरु पार्टीको गन्तव्य सरकार बनाउने भए पनि एमालेको गन्तव्य नभई सुखी नेपाली समृद्ध नेपाल भएको बताएका हुन्।
काठमाडाैं, पुस ९ : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'को प्रधानमन्त्री हुने सम्भावना लगभग समाप्त भएकाे बताएका छन्।
शनिबार पार्टी कार्यालय च्यासलमा प्युठान काठमाडौं सम्पर्क मञ्चले आयोजना गरेको कार्यक्रममा उनले भने ‘प्रधानमन्त्रीको इच्छा गरिरहनुभए पनि दाहालजीले निर्णय गर्न ढिला गर्नुभयो,’ उनले भने। जुनसुकै काम पनि बेलैमा नगरे त्यसको फल खान नपाइने टिप्पणी पनि उनले गरे।
‘काम समयमै गर्नुपर्दछ, समयमा कुनै काम गरिंदैन भने समयले नै त्यसको उपलब्धिलाई समाप्त पारिदिन्छ। समयले नै त्यसको फल खाइदिन्छ,' प्रचण्डलाई लक्षित गर्दै उनले भने, 'यदि तपाईंले आँप पाकेकै बेला टिप्नु भएन भने खान पनि पाउनुहुन्न, बेच्न पनि पाउनुहुन्न । किनभने त्यो आफैं झरेर जान्छ। अब उहाँको सम्भावना सामान्यतः समाप्त भएजस्तो देखिन्छ। किनभने उहाँले समयमा कदम चाल्नुभएन।’
अध्यक्ष ओलीले एमालेको गन्तव्य सरकार बनाउनु नभएको पनि बताए। ओलीले अरु पार्टीको गन्तव्य सरकार बनाउने भए पनि एमालेको गन्तव्य नभई सुखी नेपाली समृद्ध नेपाल भएको बताएका हुन्।
सरकारमा पुग्ने, मन्त्री हुने, कमाउने र खाने बाटो एमालेको नभएको उनले बताए। उनले सरकार भन्दा पनि मुलुकमा स्थिरता र स्थायीत्व कायम गर्न एमालेको ध्यान केन्द्रित रहेको धारणा राखे।
प्रतिपक्ष वा सत्तापक्ष जहा भएपनि एमालेको भूमिका देश र जनताको पक्षमा प्रभावकारी हुने उनले बताए। ओलीले अव पार्टीका वास्तविक नीतिहरुलाई जनता र कार्यकर्ताकाबीच लाने र पार्टीका सवै तहलाई चुस्तदूरुस्त राख्न ध्यान केन्द्रित गर्ने बताए।
उनले एमालेलाई सिद्धाउन खोज्दा पार्टी अझै सवल ढंगले अघि बढेकाले अब सबलतालाई थप शुद्ध बनाउँदै अघि बढ्नुपर्नेमा जोड दिए। अहिले एमालेका कमिटीहरू लम्बेतान भएकाे र जनताको र पार्टीको काम गर्ने नभइ आसन ग्रहणका लागि मात्र बनाइएको जस्तो भएकाे उनले बताए।
कार्यक्रममा एमाले पोलिटब्युरो सदस्य तथा प्युठानबाट नवनिर्वाचित सांसद सूर्य थापालगायतलाई सम्मान गरिएको थियो।











